पश्चिमा पर्यटक घट्दा नेपालको पर्यटन आयमा चिन्ता, एसियाली आगमनले धानेको बजार
टुरिजमफेस
काठमाडौं । नेपालमा उच्च खर्च गर्ने युरोप र अमेरिकी पर्यटकको संख्या घट्न थालेपछि पर्यटन क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । मार्च २०२६ को तथ्यांकले समग्र पर्यटक आगमन स्थिर देखाए पनि खर्चालु पर्यटक घट्नुले दीर्घकालीन पर्यटन आयमा असर पर्ने संकेत देखिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा झण्डै १ प्रतिशत कम हो। समग्र आगमन धेरै नघटे पनि यसको संरचनामा आएको परिवर्तनले पर्यटन बजारको गुणस्तरमा चुनौती देखिएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार युरोप र अमेरिकाबाट आउने पर्यटक घट्नुमा अन्तर्राष्ट्रिय परिस्थिति मुख्य कारण बनेको छ । पश्चिम एसियामा बढ्दो तनाव, ट्रान्जिट उडानमा समस्या र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यवृद्धिले लामो दूरीका पर्यटकलाई प्रभावित गरेको छ ।
युरोप र अमेरिका बाट आउने अधिकांश पर्यटक मध्यपूर्व तथा एसियाली ट्रान्जिटमार्फत नेपाल आउने भएकाले त्यहाँको अस्थिरताले सीधा असर परेको बताइन्छ। उडान भाडा महँगिँदा आगामी महिनामा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ ।
युरोप र अमेरिकाबाट तीव्र गिरावट
तथ्यांकअनुसार मार्चमा युरोपबाट आउने पर्यटक करिब १९ प्रतिशतले घटेका छन् । बेलायत, फ्रान्स र जर्मनीबाट आउने संख्या उल्लेखनीय रूपमा घटेको देखिन्छ ।
अमेरिकी महादेशबाट आउने पर्यटक पनि २५ प्रतिशतभन्दा बढीले घटेका छन्, जसमा संयुक्त राज्य अमेरिकाबाट आउने संख्या सबैभन्दा धेरै घटेको छ । पश्चिम एसियाबाट आउने पर्यटकमा समेत ठूलो कमी आएको छ ।
एसियाली र सार्क पर्यटकले धानेको आगमन
पश्चिमा पर्यटक घटे पनि भारत, बंगलादेश, चीन लगायत एसियाली मुलुकबाट आउने पर्यटकको वृद्धि भएको छ । सार्क मुलुकबाट आउने पर्यटक करिब २१ प्रतिशतले बढेका छन् भने अन्य एसियाली राष्ट्रबाट पनि उल्लेख्य वृद्धि देखिएको छ । अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या पनि बढेकाले समग्र पर्यटन आगमन धेरै घट्न पाएन ।
किन महत्वपूर्ण छन् खर्चालु पर्यटक ?
पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार युरोप र अमेरिकी पर्यटक नेपालका लागि सबैभन्दा खर्चालु समूह हुन् । ट्रेकिङ, पर्वतारोहण, साहसिक पर्यटन र लक्जरी होटलमा बस्ने भएकाले उनीहरूको बसाइ लामो र खर्च उच्च हुन्छ ।
औसत रूपमा अमेरिकी पर्यटकले दैनिक ६०–१०० डलर र युरोपेली पर्यटकले ५०–९० डलर खर्च गर्ने गरेका छन्, जबकि दक्षिण एसियाली पर्यटकको खर्च २०–४० डलर मात्र हुने गरेको अध्ययनले देखाएको छ ।
