जापानमा नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रबर्द्धन
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रबर्द्धान गरिएको छ ।
अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रबर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ । यस कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य राखिएको थियो ।
टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, जापानी पर्यटकलाई लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
नेपाल वायुसेवा निगमले जापान-नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूसँगको अन्तरक्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा हेरिटेज टुर्स एण्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेज, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एण्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयू ट्रेकिङलगायत नेपाली पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।
