कालीगण्डकीको धार मोडेर ढुङ्गा–बालुवा उत्खनन्, मापदण्डविपरीत दोहन बढ्दो
गलकोट (बागलुङ) । बागलुङ क्षेत्रमा कालीगण्डकी नदीको प्राकृतिक धार परिवर्तन गरेर ढुङ्गा तथा बालुवा उत्खनन् गरिएको पाइएको छ। हिउँदको समयमा नदीमा पानीको बहाव कम हुँदा नदीलाई पर्वततर्फ मोडेर मापदण्डविपरीत दोहन गरिएको अनुगमनबाट खुलासा भएको हो।
बागलुङ नगरपालिका–१३ कालाखोला बगर तथा वडा नं. १० गलुवा आसपासका क्षेत्रमा नदीजन्य पदार्थ निकाल्ने क्रममा नदीको धार नै परिवर्तन गरिएको देखिएको छ। नगरपालिकाले कालाखोला, भाटेखोला र गलुवा खोलाका बगरहरू ठेक्कामा दिए पनि अनुमति दिएको सीमा र मापदण्डभन्दा बाहिर गएर उत्खनन् गरिएको सरोकारवालाले बताएका छन्।
अनुगमनका क्रममा कालाखोला बगरमा नदीलाई पर्वततर्फ फर्काएर २५० मिटरभन्दा बढी लम्बाइ, ५० मिटरभन्दा बढी चौडाइ र करिब सातदेखि आठ मिटर गहिराइसम्म उत्खनन् गरिएको भेटिएको छ। ठूला मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्दा नदीको प्राकृतिक संरचना नै परिवर्तन भएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए।
उनका अनुसार सम्झौताअनुसार ३० प्रतिशत मात्र मानव श्रम प्रयोग गर्नुपर्ने भए पनि पूर्ण रूपमा हेभी उपकरण प्रयोग गरिएको पाइएको छ। प्राविधिक प्रतिवेदनले अनुमति दिइएको परिमाणभन्दा बढी उत्खनन् भएको देखाएकाले आवश्यक कारबाहीका लागि नगरपालिकालाई निर्देशन दिइएको उनले जानकारी दिए।
पर्यावरणीय प्रभाव मूल्याङ्कन अनुसार बढीमा दुई मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ निकाल्न अनुमति भए पनि केही स्थानमा आठ मिटरसम्म खनेर उत्खनन् गरिएको पाइएको छ। यसरी नदी दोहन हुँदा बागलुङ र पर्वत क्षेत्रका किनारमा भूक्षय, बाढी–पहिरोको जोखिम बढ्नुका साथै नदी किनारका बस्तीसमेत प्रभावित हुन थालेका छन्।
कालीगण्डकी नदीमा भइरहेको अवैध दोहनप्रति स्थानीय तह, जिल्ला समन्वय समिति र सरोकारवालाको दबाब बढेपछि स्थलमै पुगेर अनुगमन थालिएको हो। कालाखोला र गलुवा क्षेत्रमा विशेष रूपमा बढी दोहन भइरहेको पाइएको छ।
सरोकारवालाले नदी संरक्षण, मापदण्डको कडाइका साथ पालना र अवैध उत्खनन् रोक्न स्थानीय सरकार, प्रशासन र प्राविधिक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
