समानुपातिकमा ५१ दल असफल
काठमाडौं। यसपटक प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका ५७ राजनीतिक दलमध्ये ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) पार गर्न नसक्दा सिट पाउनबाट वञ्चित भएका छन्। निर्वाचन आयोगका अनुसार कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने व्यवस्था रहेको छ, जसमा सीमित दल मात्र सफल भएका छन्।
समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ सदर मत गणना भएको थियो। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५१ लाख ८१ हजार ३३० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेकपा एमालेले १४ लाख ५५ हजार ६६९, नेकपाले ८ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६४९ मत ल्याउँदै थ्रेसहोल्ड पार गरेका छन्। यी ६ दलले मात्र समानुपातिक सिट सुरक्षित गरेका छन्।
अन्य ५१ दल भने आवश्यक तीन प्रतिशत मत ल्याउन असफल भएका छन्। मधेसकेन्द्रित दलहरू समेत थ्रेसहोल्ड पार गर्न नसकेको देखिएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८१ हजार ८५० मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९० मत ल्याएको छ।
त्यसैगरी सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३ मत प्राप्त गरेको छ भने विभिन्न दलको संयुक्त चिह्न ‘चकिया (जाँतो)’ ले ६२ हजार ६९ मत पाएको छ। नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल, राष्ट्रिय जनमोर्चा, नेपाल जनता संरक्षण पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन लगायतका दलले पनि न्यूनतम मत सीमा पार गर्न सकेनन्।
विश्लेषकहरूका अनुसार थ्रेसहोल्ड प्रणालीका कारण साना दलहरूको प्रतिनिधित्व घटेको भए पनि संसदमा दलहरूको संख्या सीमित राख्न र स्थायित्व कायम गर्न यो व्यवस्था प्रभावकारी मानिएको छ। यस पटकको परिणामले राष्ट्रिय राजनीति केही ठूला दलमा केन्द्रित हुने संकेत देखिएको छ।
