पेट्रोलियम पदार्थ महँगियो: पेट्रोल २१९ रुपैयाँ पुग्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ थप गरिएको छ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यसूची लागू भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धनको मूल्य २५७ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ।
नेपाल आयल निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो। पछिल्लो समय निगमले लगातार घाटा व्यहोर्दै आएकाले मूल्यवृद्धि अपरिहार्य बनेको बताइएको छ।
इन्धनको मूल्य बढेसँगै यातायात, दैनिक उपभोग्य वस्तु र हवाई भाडामा समेत प्रभाव पर्ने अनुमान गरिएको छ। आर्थिक गतिविधिमा महँगीको दबाब बढ्ने भएकाले उपभोक्ता र व्यवसायी दुवै प्रभावित हुने देखिएको छ।
