नागरिकताको अभावमा तीन पुस्ता, पहिचान र अवसर दुवै संकटमा
काठमाडौं — नागरिकता नहुँदा पम्फा दर्जीले जीवनका अनेक अवसर गुमाइन्। अहिले त्यही समस्या उनका छोराछोरी हुँदै नातिनातिनासम्म पुग्ने अवस्था बनेपछि उनी आफ्नो परिवारको भविष्यप्रति चिन्तित छिन्। ‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ’ भन्ने उनको भनाइले नागरिकताको अभावले निम्त्याएको पुस्तान्तरणको समस्या उजागर गर्छ।
नेपालमै जन्मिए पनि पम्फाले अहिलेसम्म नागरिकताको प्रमाणपत्र पाउन सकेकी छैनन्। विवाहका बेला श्रीमान्को स्थायी ठेगाना र कागजातबारे खोजी नगरेको परिणाम अहिले भोग्नुपरेको उनको भनाइ छ।
१० सन्तानमध्ये जेठी पम्फा गरिब परिवारमा हुर्किएकी थिइन्। सिलाइको काम जान्ने युवकले परिवार पाल्न सक्छन् भन्ने विश्वासमा उनका अभिभावकले विवाह गरिदिएका थिए। विवाहपछि श्रीमान्सँगै सिलाइ र मजदुरी गर्दै जीवन बिताइन्। करिब ३५ वर्षअघि रोजगारीको सिलसिलामा काठमाडौं आएकी उनका श्रीमान्को मृत्यु भएको पनि दुई दशकभन्दा बढी भइसकेको छ।
श्रीमान्को मृत्यु भएपछि आफ्नो नागरिकता बनाउने प्रयास गरे पनि सफल हुन नसकेको उनले बताइन्। माइतीमा पुग्दा विवाह भइसकेकाले श्रीमान्को थातथलोबाटै नागरिकता बनाउनुपर्ने भन्दै फर्काइएको उनको भनाइ छ। तर श्रीमान्को घर कहाँ हो भन्ने जानकारी नै नभएपछि उनी समस्यामा परेकी छन्।
नागरिकताको अभावले पम्फाको समस्या व्यक्तिगत पहिचानमा मात्र सीमित छैन। उनका छोराछोरीको नागरिकता तथा जन्मदर्ता बनाउनसमेत कठिनाइ भएको छ। अहिले नातिनातिनाको जन्मदर्तासमेत हुन नसक्दा उनीहरूको शिक्षामा समेत असर परेको छ।
‘आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही हो। मेरो नागरिकता किन बन्दैन?’ पम्फाको प्रश्न छ।
उनका अनुसार नागरिकता नहुँदा दुई छोराले रोजगारी र शिक्षाको अवसर गुमाएका छन्। बैंक खाता खोल्न नसक्दा आर्थिक कारोबारमा समेत समस्या छ। ज्याला मजदुरी गरेर जीवन चलाउने छोराहरूले नागरिकताको अभावकै कारण कामसमेत गुमाउनुपरेको उनको भनाइ छ।
कागजात नहुँदा दैनिक जीवनमै समस्या
नागरिकता र जन्मदर्ता नहुँदा समस्या भोग्ने पम्फा एक्ली होइनन्। सडक बालबालिकाका रूपमा हुर्किएका सञ्जय राई पनि किशोरावस्थामा पुगिसक्दा नागरिकताविहीन छन्। आफन्त तथा अभिभावकको पहिचान स्थापित हुन नसकेका कारण उनले नागरिकता बनाउन नसकेको बताए।
तेक्वान्दो खेलाडी बनेर विद्यालयमा प्रशिक्षणसमेत दिइरहेका सञ्जयलाई आफ्नो पारिश्रमिक लिनसमेत समस्या छ। बैंक खाता आफ्नै नाममा खोल्न नसक्दा आर्थिक कारोबार अरूको माध्यमबाट गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
उनको सामाजिक सञ्जाल खाता पनि अरूकै नाममा सञ्चालन भइरहेको छ। मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिनुपरेको उनको गुनासो छ।
‘नागरिकता नभएर बैंक खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के होला?’ उनी प्रश्न गर्छन्।
सञ्जयले सांसदहरूसँग पनि आफ्नो समस्या राख्दै नागरिकता कहिले पाइन्छ भन्ने प्रश्न गरेका छन्।
पशुपति क्षेत्रमा बाल्यकाल बिताएकी अञ्जु गुरु पनि नागरिकताविहीन छन्। किशोरावस्थामै विवाह गरेकी उनका श्रीमान्सँग पनि नागरिकता छैन। दुवै जना पहिचानविहीन हुँदा रोजगारी र भविष्यका अवसरमा समस्या परेको अञ्जुको भनाइ छ।
‘नागरिकता भएको भए रोजगारी पाउने थिएँ। भविष्य उज्यालो हुन्थ्यो। अहिले न पहिचान छ, न सम्मान,’ उनले भनिन्।
जन्मदर्ताको पहुँचमै ठूलो समस्या
साथसाथ संस्थाले गरेको सडक बालबालिकासम्बन्धी सर्वेक्षणले पनि नागरिक पहिचानको समस्या गम्भीर रहेको देखाएको छ। सर्वेक्षणमा सहभागी १५० बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे पर्याप्त जानकारी नभएको पाइएको छ।
सर्वेक्षणअनुसार ६५ प्रतिशतका अभिभावकसँग आवश्यक कागजात थिएन भने ३५ प्रतिशतका घटना बाबुको पहिचान नखुलेको, बाबु बेपत्ता भएको वा वैवाहिक अवस्थासँग सम्बन्धित थिए।
त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा सरकारी कागजात नभएको पाइएको छ। यसको प्रत्यक्ष असर उनीहरूको औपचारिक रोजगारी र राज्यबाट उपलब्ध सेवासुविधामा पहुँचमा परेको छ।
संस्थाले संकलन गरेका घटनामा बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७ तथा बाबु बेपत्ता भएका ४५ घटना छन्। बहुविवाहसँग सम्बन्धित २५ र विदेशी नागरिक बाबुको पहिचानसँग सम्बन्धित पाँच घटना पनि सर्वेक्षणमा समेटिएका छन्।
सहज प्रक्रिया आवश्यक
कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकता पाउनु नागरिकको मौलिक अधिकार भएकाले कुनै पनि व्यक्ति यसबाट वञ्चित हुन नहुने बताए।
अभिभावकको पहिचान नखुलेका वा आवश्यक कागजात प्रमाणित गर्न नसक्ने व्यक्तिका लागि अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ। नागरिकता वितरणको प्रक्रिया थप सहज बनाउन समितिमार्फत आवश्यक छलफल र कार्यविधि निर्माणमा पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
अधिकारकर्मी तथा साथसाथ संस्थाका स्रोत कार्यकारी कविता शाहले कानुनमा नागरिकता र जन्मदर्तासम्बन्धी व्यवस्था भए पनि व्यवहारमा प्रक्रिया जटिल हुँदा धेरै व्यक्ति राज्यको औपचारिक पहिचानबाट बाहिरिनुपरेको बताइन्।
उनका अनुसार कानुनी प्रावधान मात्र पर्याप्त नभई त्यसको व्यावहारिक कार्यान्वयन सहज बनाउन आवश्यक छ। अन्यथा कागजातविहीन अभिभावकका सन्तानसमेत क्रमशः त्यही समस्यामा पर्ने जोखिम रहन्छ।
यसरी नागरिकताको समस्या एक व्यक्तिको पहिचानमा मात्र सीमित नरही अर्को पुस्तासम्म सर्दै जाने अवस्था देखिएको छ। राज्यले प्रक्रिया सहज बनाउन नसके पम्फाजस्ता परिवारमा नागरिकताविहीनताको समस्या पुस्तौँसम्म कायम रहने चिन्ता बढेको छ।
