पर्यटन सम्भावना बोकेको गुल्मीको कुर्घा मालीका अझै ओझेलमा
गुल्मी । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र मौलिक सांस्कृतिक परम्परा बोकेको गुल्मीको कुर्घा मालीका क्षेत्र पर्याप्त प्रचार–प्रसारको अभावमा अझै पनि पर्यटकीय नक्सामा मजबुत रूपमा स्थापित हुन सकेको छैन। मुसिकोट नगरपालिका–६ कुर्घामा अवस्थित मालीका मन्दिर धार्मिक तथा ग्रामीण पर्यटनको उत्कृष्ट सम्भावना बोकेको गन्तव्य मानिए पनि आवश्यक पूर्वाधार र प्रवर्द्धन नहुँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन्।
कुर्घा मालीका मन्दिरको प्रमुख विशेषता वर माग्दा चिच्याएर माग्ने अनौठो परम्परा हो। स्थानीय विश्वासअनुसार मालीका देवीले कान कम सुन्ने भएकाले मनोकामना व्यक्त गर्दा चिच्याउनुपर्ने चलन रहेको छ, जसले यस क्षेत्रलाई धार्मिक पर्यटनका दृष्टिले थप विशिष्ट बनाएको छ। यस्तो मौलिक परम्परा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने महत्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ।
मन्दिर परिसर वरिपरि फैलिएको हरियाली, चट्टानबाट बाह्रै महिना बग्ने पानी, प्राकृतिक कुण्ड र रंगीविरंगी माछाले यहाँको पर्यटन सम्भावनालाई अझ बलियो बनाएको छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजन भएकाले यस क्षेत्रलाई आध्यात्मिक तथा इको–टुरिजम गन्तव्यका रूपमा विकास गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन्।
विशेषगरी बैकुण्ठ चतुर्दशी र कार्तिक शुक्ल चतुर्दशीका अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, बुटवल र काठमाडौंलगायत विभिन्न स्थानबाट श्रद्धालु आउने गरेका छन्। भाकल पूरा भएपछि पुनः मन्दिरमै आएर पूजा तथा बली चढाउने परम्पराले धार्मिक पर्यटनको सम्भावना अझ बढाएको छ।
पौराणिक मान्यताअनुसार करिब पाँच हजार वर्ष पुरानो इतिहास बोकेको यो क्षेत्र माल्याश्री ऋषिको तपस्थलीका रूपमा चिनिन्छ। जलकुण्डको उत्पत्तिसँग जोडिएको देवी मालीकाको किंवदन्ती तथा स्वस्थानी व्रत कथामा शक्तिपीठका रूपमा उल्लेख हुनु यसको धार्मिक महत्त्वको प्रमाण मानिन्छ। यसले धार्मिक पर्यटन सर्किटमा समावेश गर्ने सम्भावना पनि देखाएको छ।
मन्दिर नजिकै सञ्चालनमा रहेको स्वाँरा होमस्टेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ। यहाँ आउने पर्यटकले स्थानीय परिकार, संस्कृति र जीवनशैली अनुभव गर्न सक्ने व्यवस्था रहेको छ। मुसिकोट नगरपालिकाले सडक, खानेपानी, मन्दिर पुनःनिर्माण र पूर्वाधार विकासमा सहयोग गरिरहेको नगर प्रमुख जीवलाल खरेलले बताए।
स्थानीयवासीका अनुसार कुर्घा मालीका क्षेत्रलाई लुम्बिनी–गुल्मी–बाग्लुङ धार्मिक तथा ग्रामीण पर्यटन सर्किटसँग जोडेर प्रचार–प्रसार गर्न सके ठूलो पर्यटकीय गन्तव्य बन्न सक्छ। स्थानीय ज्ञानहरी सापकोटाले मौलिक महत्व हुँदाहुँदै पनि उचित प्रवर्द्धन नहुँदा ‘बत्तीमुनिको अँध्यारो’ जस्तै बनेको गुनासो गरे।
पर्यटन विज्ञहरूका अनुसार धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र होमस्टे सुविधा भएका यस्ता गन्तव्यलाई योजनाबद्ध रूपमा ब्रान्डिङ, सडक पहुँच सुधार, डिजिटल प्रचार र पर्यटन प्याकेजमार्फत विकास गर्न सके गुल्मीको कुर्घा मालीका पश्चिम नेपालको आकर्षक धार्मिक–ग्रामीण पर्यटन केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ।
