प्रश्न: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि तपाईंको मुख्य प्राथमिकता के हुनेछ?
डा. गुणाकर भट्ट: म वर्तमान सरकारको मार्गदर्शन, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रम तथा १६औँ योजनालाई आधार मानेर आफ्नो जिम्मेवारी निर्वाह गर्नेछु। विशेषगरी सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर आयोगको काम अघि बढाउने मेरो उद्देश्य छ।
प्रश्न: अहिलेको परिस्थितिलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ?
डा. गुणाकर भट्ट: अहिलेको परिस्थिति केही चुनौतीपूर्ण छ। यस्ता चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले समन्वयकारी भूमिकालाई अझ सुदृढ बनाउन आवश्यक छ। प्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्देशनअनुसार सबै निकायसँग सहकार्य गर्दै अघि बढिनेछ।
प्रश्न: आयोगका प्राथमिक क्षेत्रहरू के–के हुनेछन्?
डा. गुणाकर भट्ट: अहिलेका सन्दर्भमा तीन विषय अत्यन्त महत्त्वपूर्ण छन्—पहिलो, सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राख्नु। दोस्रो, योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु। र तेस्रो, स्रोत परिचालन तथा समन्वयलाई व्यापक बनाउनु।
प्रश्न: विगतका योजनामा देखिएका कमजोरीलाई कसरी सम्बोधन गर्नुहुन्छ?
डा. गुणाकर भट्ट: विगतमा आर्थिक वृद्धिदर अपेक्षाकृत कम रहनुमा कार्यान्वयन पक्ष कमजोर हुनु पनि एक कारण हो। त्यसैले अब कार्यान्वयनलाई बलियो बनाउन आयोगको समन्वयकारी भूमिकालाई अझ प्रभावकारी बनाइनेछ।
प्रश्न: ठूला पूर्वाधार तथा बहुवर्षीय योजनाका समस्या समाधानका लागि के योजना छ?
डा. गुणाकर भट्ट: पूर्वतयारीको अभाव र कार्यान्वयन ढिलाइजस्ता समस्यालाई ध्यानमा राखेर मन्त्रालयहरूसँग नियमित छलफल गरिनेछ। योजनाहरूलाई व्यवहारिक र कार्यान्वयनयोग्य चरणमा पुर्याउन विशेष ध्यान दिइनेछ।
प्रश्न: तपाईंको कार्यशैली कस्तो रहनेछ?
डा. गुणाकर भट्ट: म टीमवर्कमा विश्वास गर्छु। आन्तरिक तथा अन्तर–मन्त्रालय समन्वयलाई सुदृढ बनाउँदै सामूहिक प्रयासमार्फत नै यी चुनौतीहरूको समाधान खोजिनेछ।