प्रधानमन्त्री बालेन्द्र शाह विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका प्रभावशाली १०० व्यक्तिको सूचीमा परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालको प्रतिनिधित्व गर्दै बालेनलाई पनि समावेश गरिएको हो।
टाइमले उनलाई ‘नेता’ विधामा राख्दै विश्वका शक्तिशाली राजनीतिज्ञ, सिर्जनशील व्यक्तित्व र विचारकहरूको सूचीमा स्थान दिएको छ। म्यागजिनले बालेनलाई ‘पूर्व हिप–हप कलाकार’ र नेपालको इतिहासकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा चिनाएको छ। ३६ वर्षीय शाह हालै चैत १३ गते ४३ औँ प्रधानमन्त्री नियुक्त भएका थिए।
टाइमले आफ्नो टिप्पणीमा बालेनको उदयले केवल नेपालको करिब ३ करोड जनसंख्याको नेतृत्व मात्रै नभई परम्परागत राजनीतिक शैलीविरुद्धको नयाँ सन्देश दिएको उल्लेख गरेको छ।
गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा युवापुस्ताको उल्लेखनीय समर्थन र पुराना नेताप्रति बढ्दो असन्तुष्टिका कारण उनले प्रभावशाली जित हासिल गरेको पनि म्यागजिनले औँल्याएको छ।
सिभिल इन्जिनियरिङ अध्ययन गरेका शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सक्रियता अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती उनको सामु रहेको टिप्पणी पनि गरिएको छ।
टाइमले बालेनको उदयलाई दक्षिण एसियामा जड जमाएको वंशवादी र परम्परागत राजनीतिविरुद्धको महत्वपूर्ण संकेतका रूपमा विश्लेषण गरेको छ।
यस वर्षको सूचीमा बालेनसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु जस्ता नेताहरू पनि समावेश छन्।
व्यापार तथा प्रविधि क्षेत्रबाट गुगलका प्रमुख सुन्दर पिचाई, उद्यमी माइकल डेल, डेभिड एलिसन तथा टेस्ला–स्पेसएक्ससँग सम्बन्धित ग्विन सटवेल पनि सूचीमा अटाएका छन्।
कला क्षेत्रमा बलिउड अभिनेता रणवीर कपूर, हलिउडका कलाकार जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो तथा गायक ल्युक कोम्ब्स समावेश छन्।
खेलकुदतर्फ स्कट्टी सेफलर, हिलारी नाइट, लान्डो नोरिस र सामाजिक सञ्जालका चर्चित व्यक्तित्व ‘मिस्टर बिस्ट’ पनि यस सूचीमा परेका छन्। साथै, नवप्रवर्तन र विचार क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्ना जस्ता व्यक्तिहरूले पनि स्थान पाएका छन्।
