अब १५/१५ दिनमा तलब
फाइल तस्बिर अर्थ मन्त्रालय
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई दिइने तलबभत्ता वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। अबसम्म महिनाको अन्त्यमा एकैचोटि तलब पाउने व्यवस्था हटाउँदै महिनामा दुई पटक प्रत्येक १५ दिनमा तलब उपलब्ध गराउने नीति लागू गर्न लागिएको हो।
अर्थ मन्त्रालयले यस सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिँदै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी अघि बढाउन भनेको छ। बजेट तथा कार्यक्रम महाशाखामार्फत पठाइएको पत्रमा अर्धमासिक तलब भुक्तानी प्रक्रिया छिट्टै लागू गर्ने उल्लेख गरिएको छ।
वैशाख ४ गते अर्थमन्त्रीस्तरबाट भएको निर्णयअनुसार कर्मचारीहरूको पारिश्रमिक र अन्य सुविधा अब दुई किस्तामा वितरण गरिनेछ। यसअघि भने कर्मचारीहरूले महिना पूरा भएपछि मात्रै एकमुष्ट तलब पाउने व्यवस्था थियो।
सरकारका अनुसार यो नयाँ प्रणालीले कर्मचारीको व्यक्तिगत खर्च व्यवस्थापन सहज बनाउने र आर्थिक दवाब कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
यसका लागि महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई आवश्यक प्राविधिक तथा प्रशासनिक संरचना मिलाउन आग्रह गरिएको छ। नयाँ व्यवस्था लागू भएसँगै सरकारी कर्मचारीहरूले हरेक १५ दिनमा नियमित रूपमा तलब प्राप्त गर्नेछन्।
फाइल तस्बिर अर्थ मन्त्रालय
