विद्यार्थी संगठन खारेजी अधिनायकवादी कदम- पूर्णबहादुर खड्का
टुरिजमफेस
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सरकारको पछिल्लो निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन्। विद्यार्थी संघ–संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने तयारीलाई उनले अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन्।
मंगलबार जारी विज्ञप्तिमा खड्काले लोकतान्त्रिक अभ्यासकै जगमा उदाएको वर्तमान नेतृत्वबाटै लोकतन्त्रको आधार मानिने विद्यार्थी संगठनमाथि प्रहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्। उनले भनेका छन् कि लोकतन्त्रको “नर्सरी” मानिने यस्ता संस्थाहरू हटाउने निर्णय केवल विरोधाभाषपूर्ण मात्र होइन, राजनीतिक स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप पनि हो।
उनका अनुसार सुधारको नाममा विगतका उपलब्धि र आन्दोलनको इतिहासलाई कमजोर बनाउने प्रयास भइरहेको छ। यस्तो कदमले लोकतन्त्रको मूल संरचनालाई नै असर पार्ने भएकाले यस्ता निर्णय तुरुन्त पुनर्विचार गर्न सरकारलाई आग्रह गरिएको छ।
खड्काले चेतावनी दिँदै भनेका छन् कि यदि विद्यार्थी अधिकार र संस्थागत अस्तित्वमाथि निरन्तर हस्तक्षेप जारी रहेमा विद्यार्थी शक्तिहरू फेरि सडक आन्दोलनमा उत्रिन सक्नेछन्। त्यस्तो अवस्थामा उत्पन्न हुने परिस्थितिको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको धारणा छ।
उता सरकार भने शैक्षिक क्षेत्र सुधारको बहानामा नयाँ संरचना ल्याउने तयारीमा छ। यसअन्तर्गत विद्यालय तथा विश्वविद्यालय परिसरमा दलनिकट विद्यार्थी संगठनलाई निषेध गर्ने र स्ववियुको सट्टा “विद्यार्थी काउन्सिल” गठन गर्ने प्रस्ताव अघि सारिएको छ।
