टुरिजमफेस
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित अर्मके झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि अझै पर्यटकको मुख्य रोजाइ बन्न सकेको छैन। धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती बगर–जेल्तुङ आसपास रहेको यो झरना पूर्वाधार, व्यवस्थापन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।
करिब २०० मिटर उचाइबाट दुई तहमा झर्ने अर्मके झरनाले जो कोहीलाई लोभ्याउँछ। अग्लो भीरको काखबाट झर्ने झरनाको फेदीमा म्याग्दी नदी बग्छ भने तल सानो प्राकृतिक तलाउ बनेको छ। झरनाको छेउमै रहेको प्राकृतिक तातोपानी कुण्डले यस क्षेत्रको आकर्षण अझ बढाएको छ।
दृश्यावलोकनका लागि रमणीय मानिए पनि यहाँ पर्यटकको नियमित चहलपहल भने कम देखिन्छ। अधिकांश पर्यटकले टाढैबाट झरनाको अवलोकन गर्दै तस्बिर र भिडियो खिचेर फर्किने गर्छन्।
स्थानीय जनप्रतिनिधिहरूले भने अर्मके झरना र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। वडा सदस्य हरिप्रसाद तिलिजाका अनुसार म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग विस्तारसँगै झरनासम्म सडक पुगेकाले अब पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ।
हाल सडकबाट झरना र तातोपानी कुण्डसम्म पुग्न म्याग्दी नदी पार गर्नुपर्ने अवस्था छ। त्यसका लागि झोलुङ्गे पुल निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ। हिउँदयाममा अस्थायी काठे साँघु र डाइभर्सन सडक प्रयोग गरेर झरनाको फेदीसम्म पुग्न सकिए पनि बर्खायाममा आवतजावत कठिन हुने गरेको छ।
जेल्तुङबाट छोटो पैदल दूरीमै पुग्न सकिने बगर तातोपानी कुण्डमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कन्छ। उक्त तातोपानीमा स्नान गर्दा चोटपटक, ग्यास्ट्रिक तथा छालासम्बन्धी समस्या कम हुने जनविश्वास स्थानीयमा रहेको छ।
धौलागिरि हिमाल आरोहण तथा धौलागिरि चक्रीय पदयात्रामा जाने पर्यटकलाई अर्मके झरना र तातोपानी कुण्डले थप आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ। उचित पूर्वाधार, प्रचारप्रसार र संरक्षण हुन सके यो क्षेत्र म्याग्दीको महत्वपूर्ण पर्यटन गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ। रासस