घरमै राहदानी पुर्याउन कञ्चनपुरका ‘हल्कारा’ तयारीमा
महेन्द्रनगर ।कञ्चनपुरमा अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय पुगिरहनुपर्ने झन्झट अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सहमतिअनुसार सेवाग्राहीको घरदैलोमै राहदानी पुर्याउने तयारी अन्तिम चरणमा पुगेको हो।
करिब १० दिनअघि दुई कार्यालयबीच राहदानी वितरणसम्बन्धी सम्झौता भएपछि हुलाक कार्यालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ। हुलाक सेवामार्फत चिठीपत्र, पार्सल तथा अन्य सामग्री वितरण गर्दै आएका ‘हल्कारा’ अब राहदानी वितरणमा समेत परिचालन हुनेछन्।
जिल्ला हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयका अनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीले घरमै राहदानी बुझ्न चाहेमा ठेगाना खुलाएर छुट्टै फारम भर्न थालेका छन्। “अब दुई साताभित्र जिल्लामा नयाँ राहदानी आइपुग्नेबित्तिकै वितरण सुरु हुन्छ,” उनले बताए।
कञ्चनपुरका नौवटै स्थानीय तहमा रहेका हुलाक कार्यालयमार्फत सेवा सञ्चालन गरिनेछ। जिल्लाभर हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाक प्रतिनिधि तथा हल्कारासहित ५४ जना कर्मचारी परिचालन गरिने जनाइएको छ।
प्रमुख पाण्डेयका अनुसार विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर सेवा विस्तार गर्न लागिएको हो। “राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुनेछ,” उनले भने।
दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा सबै स्थानीय तहमा हुलाक सेवा विस्तार भइसकेको छ। पछिल्लो समय लालझाडी गाउँपालिकामा समेत हुलाक कार्यालय स्थापना गरिएको छ।
सरकारले स्वीकृत गरेको १०० दिने कार्ययोजनाअन्तर्गत ‘सरकारी सेवा घरदैलोमै’ पुर्याउने नीति अनुसार यो सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै राहदानी घरमै बुझाउने सेवा कार्यान्वयनमा आइसकेको जानकारी दिएको छ। रासस
