काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाउने सहमति, पर्यटन आवागमन बढ्ने अपेक्षा
काठमाडौं । नेपाल र भारतबीचको हवाई सम्पर्क विस्तार गर्ने महत्वपूर्ण सहमति भएको छ। हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा दुवै देश सहमत भएका हुन्।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा उक्त हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति उल्लेख गरिएको छ। यसका लागि आवश्यक प्रक्रिया टुंग्याउन प्राविधिक तहमा थप परामर्श गर्ने पनि दुवै पक्षले जनाएका छन्।
हवाई मार्ग दुईतर्फी सञ्चालनमा आएमा नेपाल र भारतबीचको हवाई आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतका विभिन्न सहरबाट नेपाल आउने पर्यटकका लागि भैरहवा हुँदै लुम्बिनी तथा पश्चिम नेपालका अन्य पर्यटकीय गन्तव्यमा पुग्ने सम्भावना बढ्ने देखिन्छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भारतसँगको हवाई सम्पर्क विस्तार गर्ने माध्यमका रूपमा उपयोग गर्न सकिने भएकाले यो सहमति नेपालको पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण मानिएको छ। भारतीय पर्यटकका लागि लुम्बिनी, पोखरा, चितवनलगायतका गन्तव्यसम्मको यात्रा सहज बनाउन हवाई सम्पर्कले भूमिका खेल्न सक्छ।
नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना पनि ठूलो छ। संयुक्त वक्तव्यमा अयोध्या र जनकपुरबीच सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालनसँगै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्ने उल्लेख छ। बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि थप सम्पर्क सञ्जालको सम्भावना खोज्ने सहमति भएको छ।
यसैगरी, दुई देशले हवाई सम्पर्क विस्तारलाई द्विपक्षीय आर्थिक गतिविधि बढाउने माध्यमका रूपमा अघि बढाउने बताएका छन्। नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावमा पनि प्राविधिक छलफललाई निरन्तरता दिने सहमति भएको छ।
नेपालका लागि भारतीय पर्यटक महत्वपूर्ण पर्यटन बजारमध्ये एक भएकाले भारतका विभिन्न सहरसँगको हवाई सम्पर्क विस्तारले पर्यटन आगमनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ। विशेषगरी लुम्बिनीलाई केन्द्रमा राखेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो हवाई सम्पर्क उपयोगी हुनसक्ने देखिन्छ।
दुई देशबीच सडक, रेल र हवाई सम्पर्क विस्तारसँगै धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनलाई जोडेर संयुक्त पर्यटन बजार विस्तार गर्ने आधारसमेत बलियो बन्दै गएको छ। संयुक्त वक्तव्यमा नयाँ रेलमार्ग, पुल तथा अन्य सीमापार सम्पर्क सञ्जाल विस्तारमा जोड दिइएको छ।
बी–३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयनमा आएपछि नेपाल–भारत हवाई सम्पर्कको दायरा फराकिलो हुने र त्यसले पर्यटन, व्यापार तथा जनस्तरको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
