पर्यटन र ‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण
म्याग्दी । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग, हिमाल, झरना, तातोपानी कुण्ड र सांस्कृतिक सम्पदाका कारण पर्यटकहरूको रोजाइमा पर्ने अन्नपूर्ण गाउँपालिका पछिल्लो दशकमा अर्को परिचयले पनि चिनिन थालेको छ—‘हाइड्रो हब’का रूपमा। कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण भएका जलविद्युत् आयोजनाले यस क्षेत्रको आर्थिक गतिविधिलाई तीव्र बनाएको छ भने पर्यटन क्षेत्रमा पनि नयाँ सम्भावनाको ढोका खोलेको छ। तर विकासको यही गतिसँगै प्राकृतिक सम्पदा र पर्यटनका आधारहरू संरक्षण गर्नुपर्ने चुनौती पनि थपिएको छ।
एक समय दुर्गम र सडक पहुँचबाट टाढा रहेको अन्नपूर्ण गाउँपालिका अहिले जलविद्युत् आयोजनाको केन्द्र बनेको छ। यहाँ सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाहरूले सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधार विस्तार गरेका छन्। यी पूर्वाधारले स्थानीय बासिन्दाको जीवनशैली मात्र परिवर्तन गरेको छैन, पर्यटकको पहुँचलाई पनि सहज बनाएको छ।
विशेषगरी अन्नपूर्ण आधार शिविर, नारच्याङ, निलगिरि हिमाल क्षेत्र, भुरुङ तातोपानी, पाउद्धार तथा कालीगण्डकी करिडोरसँग जोडिएका पर्यटकीय गन्तव्यहरूमा पुग्न अहिले विगतको तुलनामा धेरै सहज भएको छ। सडक विस्तारसँगै होटल, लज, रेष्टुरेन्ट र होमस्टे व्यवसायमा लगानी बढेको छ। स्थानीय युवाले पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ अवसर खोज्न थालेका छन्।
नारच्याङ गाउँ यसको उत्कृष्ट उदाहरण बनेको छ। जलविद्युत् आयोजनाको प्रवेशसँगै सडक सञ्जाल विस्तार भएपछि गाउँमा बाह्य आगमन बढेको छ। आयोजनामा काम गर्न आएका स्वदेशी तथा विदेशी प्राविधिक र कामदारले स्थानीय होटल तथा सेवा व्यवसायलाई चलायमान बनाएका छन्। यसले पर्यटन पूर्वाधार निर्माणमा पनि सकारात्मक प्रभाव पारेको छ।
स्थानीय व्यवसायी टेकबहादुर पुनका अनुसार केही वर्षअघिसम्म बसाइँ सरेर शहरमा पुगेका धेरै परिवार अहिले गाउँ फर्किएर होटल, कृषि तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा सक्रिय हुन थालेका छन्। “सडक र विद्युत्ले गाउँको स्वरूप नै फेरिदिएको छ,” उनी भन्छन्, “अब पर्यटकलाई सेवा दिन सक्ने वातावरण बनेको छ।”
तर विकासको अर्को पक्ष पनि छ। अन्नपूर्ण क्षेत्रको पर्यटन मुख्यतः प्राकृतिक सौन्दर्य, नदी, वन, हिमाल र तातोपानी कुण्डमा आधारित छ। जलविद्युत् आयोजनाका लागि नदीको पानी सुरुङमार्फत मोडिएपछि केही स्थानमा नदीको प्राकृतिक बहाव घटेको छ। यसले नदीको सौन्दर्यसँगै जलचर जीवजन्तु र जैविक विविधतामा असर पुर्याएको स्थानीयको भनाइ छ।
पर्यटन व्यवसायीहरूका अनुसार नदीहरू केवल ऊर्जा उत्पादनका स्रोत मात्र होइनन्, ती पर्यटकीय आकर्षणका आधार पनि हुन्। नदीको प्राकृतिक स्वरूप कमजोर बन्दा साहसिक पर्यटन, प्रकृति अवलोकन र पर्यावरणीय पर्यटनमा दीर्घकालीन असर पर्न सक्छ।
अझ बढी चिन्ताको विषय भनेको अन्नपूर्ण क्षेत्रका प्रसिद्ध तातोपानी कुण्डहरू हुन्। भुरुङ तातोपानी लगायतका प्राकृतिक कुण्डहरू वर्षौंदेखि आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख आकर्षण बनेका छन्। स्वास्थ्य तथा मनोरञ्जन पर्यटनको आधार मानिएका यी कुण्डहरूमा जलविद्युत् आयोजनाको प्रभाव पर्न सक्ने आशङ्काले स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित छन्।
यदि तातोपानीका प्राकृतिक मुहानहरू कमजोर भए वा सुक्दै गए भने यस क्षेत्रको पर्यटन अर्थतन्त्रमा प्रत्यक्ष असर पर्न सक्छ। त्यसैले स्थानीयले विकाससँगै प्राकृतिक सम्पदाको संरक्षणलाई समान प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन्।
विज्ञहरूका अनुसार अन्नपूर्ण गाउँपालिकाले अब ‘हाइड्रो टुरिजम’को अवधारणामा काम गर्न सक्छ। जलविद्युत् आयोजना, हिमाली पर्यटन, तातोपानी कुण्ड, स्थानीय संस्कृति र कृषि पर्यटनलाई एकीकृत गरेर नयाँ पर्यटन उत्पादन विकास गर्न सकिन्छ। विश्वका धेरै देशमा जलविद्युत् आयोजना आफैं पर्यटकीय आकर्षणका रूपमा विकास भएका उदाहरण छन्।
स्थानीय तहले प्राप्त गरिरहेको रोयल्टीलाई पर्यटन पूर्वाधार, पदमार्ग सुधार, पर्यावरण संरक्षण, फोहोर व्यवस्थापन, होमस्टे प्रवर्द्धन तथा पर्यटनसम्बन्धी सीप विकासमा लगानी गर्न सके अन्नपूर्ण क्षेत्रले ऊर्जा र पर्यटन दुवै क्षेत्रबाट दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ।
अन्नपूर्ण अहिले केवल जलविद्युत् उत्पादनको केन्द्र मात्र होइन, विकास र पर्यटनको नयाँ प्रयोगशाला पनि बनिरहेको छ। चुनौती भनेको ऊर्जा उत्पादन र प्राकृतिक सम्पदाबीच सन्तुलन कायम गर्नु हो। यदि त्यो सन्तुलन कायम गर्न सकियो भने अन्नपूर्णले नेपालको ‘हाइड्रो हब’ मात्र होइन, दिगो पर्यटनको उत्कृष्ट नमुना बन्ने सम्भावना पनि बोकेको छ।
