चितवन । पश्चिम चितवनका बस्ती क्षेत्रमा चितुवाको आवतजावत बढ्न थालेपछि वन कार्यालयले नियन्त्रणका लागि विशेष निगरानी अभियान सुरु गरेको छ। सम्भावित जोखिम न्यूनीकरण गर्न भरतपुर महानगरपालिका–१५ अन्तर्गत दुई स्थानमा चितुवा समात्ने खोर राखिएको छ।
डिभिजन वन कार्यालय चितवनका अनुसार गोपालचोकस्थित एक पोल्ट्री फार्म परिसरमा पहिलो खोर स्थापना गरिएको छ भने त्यसबाट करिब एक किलोमिटर दूरीमा अर्को खोर पनि राखिएको छ। बस्तीमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।
वन प्राविधिकहरूले चितुवालाई खोरसम्म आकर्षित गर्न त्यसमा कुकुर राखेका छन्। यद्यपि, समाचार तयार पार्दासम्म कुनै पनि चितुवा खोरमा नपरेको कार्यालयले जनाएको छ।
यसअघि सोही क्षेत्रबाट एउटा चितुवाको बच्चा उद्धार गरी सौराहास्थित सुरक्षित स्थानमा राखिएको थियो। वन कार्यालयका अनुसार अहिले पनि उक्त क्षेत्रमा एउटा वयस्क चितुवा र अर्को बच्चा रहेको अनुमान गरिएको छ।
वन अधिकारीहरूले स्थानीयलाई रातिको समयमा एक्लै आवतजावत नगर्न, घरपालुवा जनावर सुरक्षित राख्न र चितुवा देखिएमा तत्काल वन कार्यालय वा प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।
पर्यटनका दृष्टिले पनि चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नु संरक्षण तथा दिगो वन्यजन्तु पर्यटनका लागि महत्त्वपूर्ण चुनौतीका रूपमा हेरिएको छ।