घोडेपानी–पुनहिलमा पर्यटन पूर्वाधार विस्तार, साहसिक पर्यटन प्रवर्द्धनमा जोड
म्याग्दी। विश्वप्रसिद्ध घोडेपानी–पुनहिल क्षेत्रलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले विभिन्न पर्यटन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा स्थानीय तह र गण्डकी प्रदेश सरकारको साझेदारीमा साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय तथा बसपार्क निर्माण सम्पन्न भएका छन्।
अन्नपूर्ण गाउँपालिकाले यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार विस्तारका लागि २७ लाख रुपैयाँ विनियोजन गरेको थियो भने गण्डकी प्रदेश सरकारले थप पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ। सो बजेटबाट पर्यटकलाई सहज सेवा उपलब्ध गराउने विभिन्न संरचना निर्माण गरिएको हो।
वडा नं. ६ का अध्यक्ष रामबहादुर खड्काका अनुसार विनियोजित बजेटअन्तर्गतका सबै योजना सम्पन्न भइसकेका छन्। उनका अनुसार घोडेपानी–पुनहिलमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ अवधि बढाउने लक्ष्यसहित नयाँ आकर्षण थप्ने र आवश्यक पूर्वाधार विकास गर्ने अभियानलाई निरन्तर अघि बढाइएको छ।
गाउँपालिकाले छुट्याएको छ लाख रुपैयाँबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँस पार्क हुँदै घोडेपानीको फलेघर जोड्ने करिब चार किलोमिटर लामो साइकल मार्ग निर्माण गरिएको छ। समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल क्षेत्रमा अब पर्यटकले हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै गुराँसका जङ्गलभित्र साहसिक साइकल यात्रा गर्न सक्ने भएका छन्।
त्यसैगरी १४ लाख रुपैयाँको लागतमा लालीगुराँस पार्क पुग्ने पदमार्ग, प्रवेशद्वार तथा सार्वजनिक शौचालय निर्माण गरिएको छ। पदमार्गका हिलाम्मे खण्डमा करिब ३०० मिटर कङ्क्रिट ढलान गरी यात्रुलाई सहज आवतजावतको व्यवस्था मिलाइएको उपभोक्ता समितिले जनाएको छ।
देउराली डाँडामा ढुङ्गा बिछ्याएर थप पदमार्ग निर्माण गरिएको छ भने तल्लो घोडेपानीमा पर्यटक र स्थानीय सवारी व्यवस्थापनलाई सहज बनाउन बसपार्क पनि निर्माण गरिएको छ। यसै वर्ष समुदायको सक्रियतामा घोडेपानीलाई कास्कीको उल्लेरी सडक सञ्जालसँग जोड्ने काम समेत सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारको सहयोगमा घोडेपानीदेखि घान्द्रुक जोड्ने पदमार्ग निर्माण पनि पूरा भएको छ। साथै चित्रेदेखि घोडेपानीसम्म करिब चार किलोमिटर सडक ग्राभेल गर्ने तीन करोड रुपैयाँको योजना कार्यान्वयनको चरणमा रहेको छ।
स्थानीयवासीका अनुसार घोडेपानी–पुनहिल क्षेत्रमा यसअघि लालीगुराँस पार्क र पेरीभारानी ताललाई जोड्ने घोडा मार्ग सञ्चालनमा ल्याइसकिएको छ। सडक विस्तारका कारण परम्परागत पदमार्गको महत्व घट्दै गएपछि पर्यटकलाई थप समय बस्न प्रेरित गर्ने नयाँ गतिविधि विकासमा जोड दिइएको छ। यसका लागि राम्चे–काफलडाँडा, हिस्तान–टिकोट तथा शिख–खिवाङ जोड्ने साइकल मार्गको सम्भाव्यता अध्ययनसमेत गरिएको छ।
घोडेपानीबाट करिब ४५ मिनेटको उकालो यात्रा गरेपछि पुगिने पुनहिल सूर्योदय र हिमाली दृश्यावलोकनका लागि अन्तर्राष्ट्रिय स्तरमै परिचित गन्तव्य हो। यहाँबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनमोहक दृश्य एकै स्थानबाट अवलोकन गर्न सकिन्छ। यही विशेषताका कारण घोडेपानी–पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ।
