चाररातेमा बढ्यो पर्यटकको चहलपहल, पर्यटन व्यवसायी उत्साहित
पाँचथर — पूर्वी नेपालकै आकर्षक उच्च पहाडी गन्तव्यका रूपमा चिनिन थालेको पाँचथरको फालेलुङ–४ स्थित चाररातेमा पर्यटकको चहलपहल बढेको छ। पछिल्लो समय प्राकृतिक सौन्दर्य, हिमशृङ्खलाको दृश्य, चौँरी तथा भेडीगोठ र सामाजिक सञ्जालमार्फत भएको प्रचारका कारण यहाँ नेपाल तथा भारतबाट दैनिक सयौँ पर्यटक पुग्न थालेका छन्।
फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईका अनुसार अहिले फालेलुङको बाटो हुँदै दैनिक करिब ३०० देखि ५०० जनासम्म पर्यटक चारराते पुग्ने गरेका छन्। विशेषगरी कात्तिक र मङ्सिर महिनालाई यहाँ घुमफिरका लागि उपयुक्त समय मानिन्छ।
समुद्र सतहदेखि करिब तीन हजार ५०० मिटर उचाइमा रहेको चाररातेबाट कञ्चनजङ्घा र कुम्भकर्णसहित नेपाल, भारतको सिक्किम तथा भुटानतर्फका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ। खुला पाटन, बुकीलगायतका प्राकृतिक दृश्य र उच्च पहाडी वातावरणले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीयको भनाइ छ।
चाररातेको अर्को प्रमुख आकर्षण सूर्यास्त बनेको छ। पूर्वी नेपालका धेरै स्थानबाट सूर्योदय अवलोकन गर्न सकिने भए पनि चाररातेबाट देखिने सूर्यास्त विशेष आकर्षक भएकाले पछिल्लो समय यसलाई पर्यटकले रोज्न थालेका पर्यटन व्यवसायी राई बताउँछन्।
यस क्षेत्रमा रहेको झन्डा पोखरी, जलजले पोखरी र भैँसेपोखरी पनि पर्यटकका थप आकर्षण बनेका छन्। नयाँ वर्षमा आयोजना हुने चौँरी महोत्सव, चलचित्र तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चाररातेका दृश्य प्रचार भएपछि यसको पर्यटन पहिचान अझ विस्तार भएको छ।
घरबास सञ्चालक डिल्लीहाङ केरुङका अनुसार चलचित्र छायाङ्कन र डिजिटल माध्यमबाट भएको प्रचारले पनि चाररातेमा पर्यटक बढाउन योगदान गरेको छ। पछिल्लो समय ‘कलेजी उनको स्वीटर–२’ चलचित्रको छायाङ्कनका क्रममा कलाकार विपीन कार्की, मिरुना मगरलगायत यहाँ पुगेपछि यस क्षेत्रप्रति थप चासो बढेको स्थानीयको भनाइ छ।
चाररातेमा फिदिमबाट प्राङबुङ हुँदै तथा इलामको सन्दकपुरबाट समेत पुग्न सकिन्छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनबाटै पुग्न सकिने भएपछि पर्यटकका लागि गन्तव्य थप सहज बनेको छ।
भारतका विभिन्न क्षेत्रबाट विगतदेखि नै पर्यटक आउने गरेको भए पनि पछिल्लो समय नेपालतर्फबाट चारराते पुग्ने नेपाली पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ। यसले स्थानीय पर्यटन व्यवसायी र बासिन्दामा पर्यटनबाट आयआर्जन बढ्ने आशा जगाएको छ।
पर्यटन व्यवसायी राईका अनुसार भारतबाट आउने पर्यटकमध्ये केहीलाई नेपालतर्फका गन्तव्यसँग जोड्न सकिए पाँचथर सदरमुकाम फिदिमलगायत आसपासका बजारमा समेत पर्यटन गतिविधि विस्तार हुन सक्छ। त्यसका लागि सडक, आवास, खानेपानी, विद्युत् तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
यद्यपि पर्यटकको आगमन बढेसँगै चाररातेमा पूर्वाधार र व्यवस्थापनको चुनौती पनि देखिन थालेको छ। सीमित घरबास तथा गोठबास, खानेपानी र विद्युत्को समस्या तथा वर्षायाममा सडक जोखिमपूर्ण बन्ने अवस्थाले पर्यटक व्यवस्थापनमा कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।
त्यस्तै, बढ्दो सवारी चाप र फोहरमैला व्यवस्थापन पनि चुनौतीका रूपमा देखिएको छ। पर्यटकको सङ्ख्या बढे पनि आवश्यक सुविधा उपलब्ध गराउन नसके गन्तव्यको पर्यटन छविमा नकारात्मक असर पर्न सक्ने भएकाले दीर्घकालीन योजना आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, चौँरी संस्कृति, पोखरी र फराकिला पाटनलाई एकीकृत पर्यटकीय उत्पादनका रूपमा विकास गर्न सके चारराते पाँचथरको महत्वपूर्ण पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।
