७० करोडको पर्यटन परियोजना संकटमा, भोटेकोशी हेली रिसोर्टको लिलामीमा पहिलो चरणमै खरिदकर्ता भेटिएन
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माण गरिएको बहुचर्चित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा सेन्टर आर्थिक संकट र साझेदारबीचको विवादका कारण लिलामी प्रक्रियामा पुगेको छ। करिब ७० करोड रुपैयाँ मूल्यांकन गरिएको पर्यटन परियोजना ३९ करोड रुपैयाँभन्दा बढी दायित्वसहित बिक्रीमा राखिए पनि पहिलो चरणको लिलामीमा कुनै पनि खरिदकर्ता आकर्षित हुन सकेनन्।
नेपाल बैंकले बक्यौता कर्जा असुल गर्न गत जेठ १ गते ३० दिने समयसीमासहित गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको थियो। तर निर्धारित अवधिमा कुनै प्रस्ताव नपरेपछि बैंकले दोस्रो चरणअन्तर्गत असार १५ गते पुनः १५ दिनको नयाँ सूचना जारी गरेको छ।
रिसोर्टका संस्थापकमध्ये एक छिरीङ शेर्पाका अनुसार परियोजना निर्माणका लागि नेपाल बैंकबाट करिब ३२ करोड रुपैयाँ ऋण लिइएको थियो। समयसँगै ब्याज, जरिवाना तथा अन्य शुल्क थपिँदा बैंकसमक्ष तिर्नुपर्ने रकम करिब ३९ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
नेपाल बैंकले सार्वजनिक गरेको सूचनामा पटक–पटक ताकेता गर्दा पनि ऋण भुक्तानी नभएकाले धितोमा रहेको चल तथा अचल सम्पत्ति हालको अवस्थामै बिक्री गरिने उल्लेख गरिएको छ।
२०७२ सालको भूकम्पपछि विदेशी पर्यटकलाई लक्षित गर्दै हेलिकोप्टर सेवासहितको उच्चस्तरीय पर्यटन गन्तव्य बनाउने उद्देश्यले रिसोर्ट निर्माण थालिएको थियो। तर कोरोना महामारीका कारण निर्माण र सञ्चालन दुवै प्रभावित भएपछि परियोजना आर्थिक दबाबमा परेको बताइएको छ।
पूर्व सञ्चालक शेर्पाका अनुसार रिसोर्टको बजार मूल्य ७० करोड रुपैयाँभन्दा बढी भए पनि साझेदारबीचको मतभेद, लगानी व्यवस्थापनमा देखिएको समस्या र व्यवसाय सञ्चालनमा आएको अवरोधका कारण परियोजना संकटमा पुगेको हो। उनका अनुसार प्रारम्भिक चरणमा आर्थिक अभावका कारण परियोजनाको स्वामित्व परिवर्तन गरिएको थियो, तर त्यसपछि व्यवस्थापन झन् जटिल बन्दै गएको दाबी गरिएको छ।
मुख्य लगानीकर्तामध्ये एक सुवास प्रधान हाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका छन्। पूर्व सञ्चालकहरूको भनाइमा यस घटनाले परियोजनाको व्यवस्थापन र वित्तीय अवस्था थप प्रभावित भएको छ।
सुरुवाती लगानीकर्ता चिनबहादुर रानाभाट र छिरीङ शेर्पापछि सुवास प्रधान तथा शेयर कारोबारी दिपेन्द्र अग्रवाल परियोजनामा साझेदार बनेका थिए। त्यसपछि शेयर स्वामित्व, थप लगानी र आर्थिक दायित्वको कार्यान्वयनलाई लिएर विवाद बढ्दै गएको पूर्व सञ्चालकहरूको दाबी छ।
कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखअनुसार हाल रिसोर्टको स्वामित्व सुवास प्रधान र दिपेन्द्र अग्रवाल पक्षसँग सम्बन्धित परिवारको नाममा रहेको देखिन्छ। पूर्व सञ्चालक शेर्पाले आफूहरूले आफ्नो सम्पूर्ण स्वामित्व हस्तान्तरण गरिसकेको बताएका छन्।
यता, नेपाल बैंकले प्रकाशित गरेको कर्जा असुली सूचनामा भने भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा सेन्टरसँगै चिनबहादुर रानाभाट, समिरकुमार नेपाल, छिरीङ शेर्पा र सुवास प्रधानलाई सञ्चालकका रूपमा उल्लेख गरेको छ।
अब दोस्रो चरणको लिलामीमा सम्भावित लगानीकर्ता आकर्षित हुन्छन् वा साझेदारबीच कुनै सहमति भएर परियोजनाले नयाँ दिशा पाउँछ भन्ने विषयलाई पर्यटन तथा व्यावसायिक क्षेत्रले चासोका साथ हेरेका छन्।
