६ अर्बको जालपादेवी केबलकार अन्तिम चरणमा
Tourism Face Main News, NEWS 0
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडामा निर्माणाधीन जालपादेवी केबलकार आयोजना अन्तिम निर्माण चरणमा पुगेको छ। करिब ६ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको यो परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
आइएमई समूहको प्रमुख लगानी रहेको यस आयोजनाको प्रगति अवलोकनसँगै शुक्रबार नवनिर्मित जालपादेवी मन्दिरमा विशेष पूजा, क्षमा पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहभागी हुँदै आयोजना निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार केबलकारका टप स्टेशन र बटम स्टेशनका अधिकांश भौतिक संरचना निर्माण सम्पन्न हुने चरणमा छन्। टावर (पोल) जडान र स्टेशन निर्माणको काम लगभग सकिएको छ भने अब केबल तान्ने र गोन्डोला जडान गर्ने प्राविधिक प्रक्रिया सुरु गरिनेछ।
चिसापानी (लम्कीचुहा नगरपालिका–३) देखि राजकाँडा (मोहन्याल गाउँपालिका–७) सम्म ३.१ किलोमिटर लामो केबलकार मार्ग निर्माण भइरहेको छ। परियोजनाअन्तर्गत तल्लो स्टेशनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हल निर्माण भइरहेका छन् भने माथिल्लो स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेस्टुरेन्ट र बाल उद्यान विकास गरिँदैछ।
कर्णाली नदी र ऐतिहासिक चिसापानी पुलको मनोरम दृश्यसँग जोडिएको यो परियोजनाले सुदूरपश्चिममा धार्मिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई एकै स्थानमा समेट्ने अपेक्षा गरिएको छ। आयोजना सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुनुका साथै स्थानीयस्तरमा रोजगारीका अवसर पनि उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ।
पूजापछि आयोजित कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले ठूला पूर्वाधार आयोजना समय, लागत र गुणस्तर कायम राख्दै सम्पन्न गर्न सक्ने क्षमता प्रमाणित गरिरहेको बताए। उनका अनुसार धार्मिक सम्पदालाई आधुनिक पर्यटन पूर्वाधारसँग जोडेर देशका विभिन्न भागमा यस्ता परियोजना विस्तार गर्ने दीर्घकालीन योजना रहेको छ।
भारतसँगको सहज पहुँचका कारण यो गन्तव्य अन्तरदेशीय पर्यटनका लागि पनि आकर्षक बन्ने अपेक्षा गरिएको छ। गड्डाचौकी, गौरीफन्टा र रुपैडिहा नाकाबाट छोटो सडक यात्रामै पुग्न सकिने भएकाले उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, लखनउ, बरेली र देहरादुनलगायत भारतीय सहरका पर्यटकलाई समेत लक्षित गरी पूर्वाधार विकास भइरहेको कम्पनीले जनाएको छ।
स्थानीयवासीका अनुसार गर्मीयाममा तराईको चर्को तापक्रमबाट राहत खोज्ने आन्तरिक तथा भारतीय पर्यटकका लागि राजकाँडा भविष्यमा लोकप्रिय ‘हिल स्टेसन’का रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ। पर्यटनसँग धार्मिक आस्था र आधुनिक पूर्वाधारलाई जोड्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
