राइडर गणेश नेपालीको आत्मदाहपछि उपचारकै क्रममा निधन
काठमाडौं । आफ्नै शरीरमा आगो लगाएका राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। मुगुको सोरु गाउँपालिका–२ निवासी २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचार भइरहेका बेला निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४० बजे त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट विभाग) पछाडिको सडकमा उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार नेपाली यात्रु लिएर राहदानी विभाग पुगेका थिए। सो क्रममा उनको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलले ह्विल लक लगाएपछि महानगर प्रहरीसँग विवाद भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार नेपाली बिहान करिब ११ बजे विभाग पुगेका थिए। विवादपछि उनी त्यहाँबाट बाहिरिए पनि दिउँसो पुनः घटनास्थल फर्किएका थिए। त्यसबेला महानगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
घटनापछि आसपास रहेका सर्वसाधारण र सुरक्षाकर्मीले तत्काल पानी हालेर आगो निभाएका थिए। त्यसपछि उनलाई मुख्य सडकसम्म ल्याई ट्याक्सीमार्फत वीर अस्पताल पुर्याइएको थियो।
मृतक नेपालीको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा सम्बन्धित निकायसँग छलफल गरिरहेका छन्। छलफलपछि उनी वीर अस्पताल जाने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ।
