काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकन प्रक्रिया अघि बढाउन अनुमति दिएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार दायर निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो।
यससँगै पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिट निवेदन खारेज गर्ने अघिल्लो आदेश अब पुनः सर्वोच्चमै परीक्षण हुने भएको छ।
यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई वैधानिक मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो।
उक्त आदेशप्रति असहमति जनाउँदै देउवाले साउन ७ गते वारेसमार्फत पुनरावलोकनको निवेदन दर्ता गराएका थिए।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको निर्णयविरुद्ध देउवासँगै नेता पूर्णबहादुर खड्काले पनि सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए। उनीहरूले निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।
सर्वोच्चको पछिल्लो निर्णयसँगै कांग्रेसको आन्तरिक नेतृत्व विवादसम्बन्धी कानुनी प्रक्रिया फेरि एकपटक न्यायिक परीक्षणको चरणमा प्रवेश गरेको छ।