हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य बन्दै फर्पिङ
कमलकुमार बस्नेत
काठमाडौं — राजधानीको कोलाहलबाट केही टाढा दक्षिणतर्फ चोभार र टौदह हुँदै पुगिने फर्पिङ धार्मिक, प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो। दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङ पछिल्लो समय नेपालको जलविद्युत् इतिहाससँग जोडिएको ‘हाइड्रो हेरिटेज’ पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा समेत चिनिन थालेको छ।
सल्ला र उत्तिसका रुख, चिसो पहाडी हावा तथा प्राकृतिक वातावरणले घेरिएको फर्पिङमा राणाकालमा निर्माण गरिएको ऐतिहासिक पावरहाउस छ। यहीँ नेपालको पहिलो जलविद्युत् आयोजना चन्द्रज्योति विद्युत् गृह स्थापना गरिएको थियो, जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ।
पावरहाउसमा तत्कालीन समयका पेल्टन टर्बाइन, जेनेरेटरलगायतका पुराना उपकरण संरक्षण गरेर राखिएका छन्। यी संरचना नेपालको विद्युत् विकासको इतिहास बुझ्न चाहनेका लागि महत्वपूर्ण सम्पदा बनेका छन्।
दक्षिणकाली नगरपालिकाले फर्पिङ क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटनसँगै ऐतिहासिक र शैक्षिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएको छ। नगरप्रमुख मोहन बस्नेतका अनुसार फर्पिङमा रहेको ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर, कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा, विभिन्न बौद्ध गुम्बा र दक्षिणकाली मन्दिरलाई जोडेर पर्यटकीय गतिविधि विस्तार गर्न सकिने सम्भावना छ।
काठमाडौं उपत्यकाबाट बिहानै यात्रा सुरु गरेमा यी अधिकांश स्थल एकै दिनमा घुम्न सकिन्छ। लामो समय बस्न चाहने पर्यटकका लागि आसपासमा विभिन्न होटल तथा रिसोर्ट पनि सञ्चालनमा छन्।
शताब्दी पुरानो जलविद्युत् सम्पदा
राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा योजना अघि बढाइएको चन्द्रज्योति विद्युत् गृहको उद्घाटन विसं १९६८ जेठ ९ गते भएको थियो। पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्रका रूपमा इतिहासमा दर्ज छ।
आयोजनाको योजना निर्माण नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्वमा भएको थियो। कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए। बेलायती इन्जिनियरहरूले विस्तृत लागत अनुमान तथा उपकरण जडानको काम गरेका थिए भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए।
नेपाली कामदार तथा केही भारतीय प्राविधिकको सहभागितामा मुख्य निर्माण करिब २० महिनामा सम्पन्न भएको थियो। आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ। टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन।
आवश्यक उपकरण बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै फर्पिङसम्म ढुवानी गरिएको थियो।
फर्पिङबाट सुरु भएको काठमाडौंको विद्युत् यात्रा
फर्पिङमा विद्युत् उत्पादनका लागि ठूलो नदीमा बाँध निर्माण गरिएको थिएन। सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय निर्माण गरिएको थियो। उक्त जलाशयको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट थियो।
जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्च व्यासको पाइपमार्फत पानी पावरहाउसमा पुर्याइन्थ्यो। पानीको दबाबबाट २५०–२५० किलोवाट क्षमताका दुई पेल्टन टर्बाइन सञ्चालन हुन्थे। जेनेरेटरबाट उत्पादित विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो।
काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो प्रसारण लाइनमार्फत फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्याइएको थियो। विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा आयोजित समारोहमा तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले करिब ६ः३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए।
उद्घाटनपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको इतिहास छ। त्यसको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको थियो। यद्यपि, सुरुआती चरणमा फर्पिङको विद्युत् सेवा मुख्यतः राजपरिवार, राणा परिवार तथा पहुँच भएका सीमित क्षेत्रमै केन्द्रित थियो।
फर्पिङ जलविद्युत् केन्द्रले विसं २०३८ सम्म नियमित विद्युत् उत्पादन गरेको थियो। त्यसपछि केन्द्रमा प्रयोग हुने पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित विद्युत् उत्पादन बन्द भयो।
हाल पुराना उपकरण संरक्षण गरी ऐतिहासिक सम्पदाका रूपमा राखिएका छन्। नेपाल विद्युत् प्राधिकरणले समेत यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ।
हेरिटेज पर्यटनको सम्भावना
दक्षिणकाली नगरपालिकाले फर्पिङ क्षेत्रको पर्यटकीय सम्भावना पहिचान गरी आवश्यक पूर्वाधार र संरक्षणका काम अघि बढाइरहेको जनाएको छ। नगरप्रमुख बस्नेतका अनुसार क्षेत्रको नक्साङ्कनको काम भइरहेको छ।
फर्पिङ धार्मिक पर्यटनका लागि मात्र नभई इतिहास, प्रकृति, पदयात्रा, शैक्षिक भ्रमण र पिकनिकका लागि समेत उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ।
जलविद्युत् क्षेत्रका लगानीकर्ता विजय सागर प्रधानले पनि फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए। उनका अनुसार ऐतिहासिक जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धनसँगै जलाशय, पावरहाउस, मन्दिर तथा गुम्बालाई एउटै पर्यटकीय मार्गमा जोड्न सके फर्पिङको आकर्षण थप बढाउन सकिन्छ।
यसरी धार्मिक तथा प्राकृतिक आकर्षणसँगै नेपालको जलविद्युत् इतिहास बोकेको चन्द्रज्योति विद्युत् गृहलाई केन्द्रमा राखेर फर्पिङलाई ‘हाइड्रो हेरिटेज’ पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ। यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको विद्युत् विकासको प्रारम्भिक इतिहास प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिल्नेछ। रासस
