पाँचतारे होटलमा ग्यासको ठूलो खपत, नियमित स्टकलाई लिएर सरकारको अनुगमन विवादमा
काठमाडौं । पाँचतारे होटलमा खाना पकाउन ठूलो परिमाणमा एलपी ग्यास आवश्यक पर्ने भए पनि त्यसका लागि राखिएको स्टकलाई लिएर सरकारको अनुगमन विवादमा परेको छ। होटल व्यवसायीहरूले नियमित सञ्चालनका लागि आवश्यक ग्यास मौज्दात राख्नु बाध्यता भएको बताएका छन् भने सरकारी पक्षले ठूलो परिमाणमा सिलिन्डर भण्डारण गरिएको विषयमा अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
होटल व्यवसायीका अनुसार पाँचतारे होटलमा सामान्य दिनमा दैनिक करिब ७० सिलिन्डरसम्म ग्यास खपत हुन्छ। पर्यटकको चाप बढेको, सभा–सम्मेलन तथा विशेष कार्यक्रम सञ्चालन भएको दिनमा यो मात्रा १४० सिलिन्डरसम्म पुग्न सक्छ।
पाँचतारे होटलमा एकैपटक धेरै भान्छा सञ्चालन हुने भएकाले ग्यासको माग पनि उच्च हुने व्यवसायी शशिकान्त अग्रवाल बताउँछन्। उनका अनुसार एउटा होटलमा सामान्यतः पाँचदेखि सातवटासम्म किचेन हुने र प्रत्येक किचेनमा नियमित अवस्थामा करिब १० सिलिन्डर आवश्यक पर्न सक्छ। विशेष कार्यक्रमका बेला एउटै किचेनमा २० वटासम्म सिलिन्डर खपत हुन सक्ने उनको भनाइ छ।
पर्यटक तथा पाहुनालाई नियमित खाना उपलब्ध गराउन होटलहरूले दुईदेखि पाँच दिनसम्म पुग्ने ग्यास अग्रिम रूपमा राख्नुपर्ने व्यवसायीहरूको तर्क छ। ग्यास सकिएर होटलको किचेन नै बन्द हुने अवस्था आए त्यसले पाहुना सेवा र अन्तर्राष्ट्रिय बजारमा होटलको प्रतिष्ठामै असर पार्न सक्ने उनीहरू बताउँछन्।
व्यवसायीहरूले नेपालमा व्यावसायिक प्रयोजनका लागि १४.२ किलोका घरेलु सिलिन्डर प्रयोग गर्नुपर्ने अवस्थाका कारण ठूलो संख्यामा सिलिन्डर थुपार्नुपर्ने बाध्यता रहेको बताएका छन्। अन्य मुलुकमा होटल, अस्पताल तथा ठूला उद्योगका लागि ४५० किलोसम्मका ठूला व्यावसायिक ग्यास सिलिन्डरको व्यवस्था हुने भए पनि नेपालमा त्यस्तो सुविधा उपलब्ध नभएको उनीहरूको गुनासो छ।
यही विषयबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार काठमाडौंस्थित र्याडिसन होटलमा अनुगमन गरी १८४ वटा भरिएका ग्यास सिलिन्डर फेला परेको जनाएको छ। सचिवालयले ती सिलिन्डर लुकाएर राखिएको दाबी गर्दै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो।
तर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यसलाई ‘छापा’ नभई नियमित अनुगमन भएको स्पष्ट पारेको छ। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार सोल्टी, हायात, एभरेस्ट, र्याडिसनलगायत पाँचतारे होटलमा नियमित अनुगमन गरिएको हो।
विभागका अनुसार अन्य पाँचतारे होटलमा पनि एकपटकमा ७० देखि ८० वटासम्म ग्यास सिलिन्डर प्रयोग हुने र १५० देखि २०० वटासम्म सिलिन्डर मौज्दात राखिएको भेटिएको छ। यसले होटलहरूले नियमित सञ्चालनका लागि आवश्यकताअनुसार ग्यासको अग्रिम व्यवस्थापन गर्दै आएको देखाउँछ।
व्यवसायीहरूले भने सरकारले होटलको सञ्चालन प्रकृति र ग्यासको वास्तविक आवश्यकता नबुझी मौज्दातलाई ‘लुकाएर राखेको’ रूपमा व्याख्या गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार कर तथा निर्धारित मूल्य तिरेर खरिद गरिएको ग्यासलाई होटलको दैनिक सञ्चालनका लागि सुरक्षित राख्नु गैरकानुनी भण्डारणका रूपमा बुझिनु हुँदैन।
विशेषगरी विदेशी पर्यटक, अन्तर्राष्ट्रिय कार्यक्रम तथा ठूला सभा–सम्मेलनमा निर्भर पाँचतारे होटलका लागि निर्बाध भान्छा सञ्चालन पर्यटन सेवाको महत्वपूर्ण हिस्सा हो। ग्यास आपूर्ति अनिश्चित हुने अवस्थामा आवश्यक मौज्दात राख्न नपाइने हो भने त्यसको प्रत्यक्ष असर होटल सेवा, पर्यटक अनुभव र नेपालको पर्यटन प्रतिष्ठामा पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।
यससँगै नेपालमा होटल तथा अन्य ठूला व्यावसायिक प्रतिष्ठानका लागि छुट्टै व्यावसायिक ग्यास आपूर्ति प्रणाली विकास गर्नुपर्ने बहस पनि पुनः सतहमा आएको छ। घरेलु प्रयोजनका साना सिलिन्डरमा निर्भर रहँदा ठूलो परिमाणमा सिलिन्डर व्यवस्थापन गर्नुपर्ने अवस्था सुरक्षा र सञ्चालन दुवै दृष्टिले चुनौतीपूर्ण रहेको व्यवसायीहरूको तर्क छ।
ग्यास अभावका बेला सर्वसाधारण लामो समय लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा सरकारले होटलको मौज्दातलाई मात्र केन्द्रमा राखेर कारबाही देखाउनु समस्याको दीर्घकालीन समाधान नभएको व्यवसायीहरूको गुनासो छ। यसको सट्टा होटल, पर्यटन उद्योग र अन्य ठूला व्यावसायिक क्षेत्रको वास्तविक मागअनुसार सुरक्षित तथा व्यवस्थित ग्यास आपूर्ति प्रणाली निर्माण गर्नुपर्ने उनीहरूको माग छ।
