१० करोड लगानीको कान्तिताल बेहाल, पर्यटकीय गन्तव्यभन्दा दुर्व्यसनीको केन्द्र बन्दै
राँझा, बाँके । नेपालगञ्जको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब १० करोड रुपैयाँ खर्चेर निर्माण गरिएको कान्तिताल अहिले संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा रहेको ऐतिहासिक ताल झाडी र बुट्यानले ढाकिन थालेपछि यसको प्राकृतिक तथा पर्यटकीय आकर्षण घट्दै गएको छ। स्थानीयका अनुसार ताल क्षेत्र अहिले लागुऔषध प्रयोगकर्ताहरूको जमघट हुने स्थानसमेत बनेको छ।
उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित पर्यटकीयस्थलका रूपमा विकास गर्न ठूलो लगानी गरेको थियो। तर, नियमित सरसफाइ, सुरक्षा र संरचनाको मर्मतसम्भार नहुँदा उक्त लगानीको प्रतिफल देखिन सकेको छैन।
ताल परिसरमा पर्यटकको सुविधाका लागि निर्माण गरिएका रेलिङहरू ठाउँ–ठाउँमा भत्किएका छन्। रातको समयमा शंकास्पद गतिविधि बढेपछि आसपासका बासिन्दाले सुरक्षाको चिन्तासमेत व्यक्त गरेका छन्।
स्थानीयका अनुसार तालको सौन्दर्य र जैविक महत्त्व जोगाउन पटक–पटक आवाज उठाए पनि संरक्षण तथा सुरक्षा व्यवस्थामा अपेक्षित सुधार हुन सकेको छैन। ताल क्षेत्र चराचुरुङ्गीको बासस्थानसमेत रहेकाले यसको संरक्षणलाई पर्यटकीय विकाससँगै वातावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।
ताल सञ्चालनको जिम्मेवारी पाएका ठेकेदार फनबहादुर गुरुङले वार्षिक २८ लाख रुपैयाँ राजस्व उपमहानगरपालिकालाई बुझाउने गरी सम्झौता भएको जानकारी दिँदै संरचना तोडफोडमा लागुऔषध प्रयोगकर्ताको संलग्नता हुनसक्ने बताए।
उता नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई पुनः व्यवस्थित गरी पर्यटकीय गतिविधि बढाउने योजना अघि बढाइरहेको बताए। विगतका प्रयास प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले सरोकारवाला निकायसँग समन्वय गरेर दिगो संरक्षण, सुरक्षा र पर्यटकीय उपयोगको नयाँ योजना कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए।
कान्तितालको अवस्था हेर्दा पूर्वाधार निर्माणमा मात्र ठूलो रकम खर्च गरेर नपुग्ने र त्यसको दीर्घकालीन संरक्षण, सुरक्षा, सञ्चालन तथा प्रवर्द्धनमा निरन्तर लगानी आवश्यक रहेको देखिन्छ।
