एक महिनामै अन्नपूर्ण संरक्षण क्षेत्रमा झन्डै ३३ हजार विदेशी पर्यटक
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको छ। गत असोज महिनामा मात्रै ३२ हजार ९६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ जना रहेका छन्।
गत वर्षको असोज महिनाको तुलनामा यस वर्ष दुई हजार ४१६ जना बढी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका हुन्। गत वर्ष सोही अवधिमा ३० हजार ५४७ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामध्ये असोजमा सबैभन्दा धेरै पर्यटक आएका छन्। साउनमा २६ हजार ५९१ र भदौमा १७ हजार ९१३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने भएकाले यस अवधिमा पर्यटकको चहलपहल बढ्ने गरेको आयोजना प्रमुख कडरिया बताउँछन्।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्न आउने विदेशी पर्यटकको मात्र तथ्याङ्क संकलन गर्दै आएको छ। सडकमार्गबाट समेत उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्।
शरद ऋतु पदयात्राका लागि अनुकूल मौसम मानिने भएकाले अन्नपूर्ण क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ। यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र म्याग्दीको घोडेपानीमा पर्यटकको आवागमन बढ्ने गरेको छ।
आयोजना प्रमुख कडरियाका अनुसार दसैँ र तिहारको बीचको समयमा पदयात्रामा निस्कने पर्यटकको संख्या बढी हुने गर्छ। करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जीवनशैली र सांस्कृतिक सम्पदाका कारण लोकप्रिय छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ हुँदै अन्नपूर्ण क्षेत्रमा छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिन्छ। यस संरक्षण क्षेत्रभित्र पाँच जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।
पर्यटनमैत्री पूर्वाधार, स्थानीय आतिथ्यता र उपलब्ध सेवा सुविधाले पनि अन्नपूर्ण चक्रीय पदमार्गलाई पदयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ। पर्यटक आगमनमा देखिएको वृद्धिले यस क्षेत्रको पर्यटन व्यवसायमा थप उत्साह थप्ने अपेक्षा गरिएको छ।
