एनपीएलबाट नेपालको खेल पर्यटन प्रवर्द्धन हुने मन्त्री पोखरेलको विश्वास
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने बताएका छन्।
प्रतियोगिताको उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा अघि बढिरहेको एनपीएलले विश्व समुदायमाझ नेपालको पहिचान विस्तार गर्ने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदप्रति जनताको आकर्षण बढ्दै गएको पुष्टि गरेको उनको भनाइ थियो। खेलप्रतिको यही रुचिलाई नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान अभिवृद्धिसँग जोड्नुपर्ने उनले बताए।
‘खेलप्रेमीहरूको उल्लेख्य सहभागिताले नेपाली खेल क्षेत्रको सम्भावना र भविष्यप्रति आशा जगाएको छ,’ मन्त्री पोखरेलले भने, ‘यस आकर्षणलाई खेलकुदको विकास र नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा लिनुपर्छ।’
एनपीएलमा सहभागी हुन नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अन्य अतिथिहरूले यहाँको क्रिकेटसँगै नेपाली संस्कृति, प्राकृतिक सौन्दर्य र आतिथ्यताको अनुभव गर्ने अपेक्षा पनि उनले व्यक्त गरे।
विदेशी खेलाडी तथा पाहुनाको नेपाल आगमनले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसर सिर्जना गर्ने उनको विश्वास छ। यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालबारे सकारात्मक सन्देश फैलाउन र देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन सक्ने उनले बताए।
मन्त्री पोखरेलले एनपीएलमा सहभागी सबै टोली तथा खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै प्रतियोगिता रोमाञ्चक र सफल हुने अपेक्षा व्यक्त गरे।
