कर्णालीको हवाई सेवा सुधारका लागि सरोकारवालाबीच छलफल
काठमाडौं । कर्णाली प्रदेशमा हवाई यातायात सञ्चालनका क्रममा देखिएका समस्या समाधान गरी सेवा नियमित र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित छलफलमा कर्णालीको हवाई सेवामा देखिएका चुनौती, तिनको समाधान र सेवा विस्तारका सम्भावनाबारे विचारविमर्श गरिएको हो।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
मन्त्रालयका अनुसार बैठकमा कर्णालीका दुर्गम तथा पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दा उत्पन्न हुने कठिनाइ पहिचान गर्दै यात्रुलाई सहज रूपमा सेवा उपलब्ध गराउने उपायबारे छलफल गरिएको थियो।
जहाजको संख्या पर्याप्त नहुँदा कर्णालीसहित देशका विभिन्न पहाडी क्षेत्रका विमानस्थलमा यात्रुको चाप बढे पनि नियमित उडान सञ्चालनमा समस्या भइरहेको छ। यसले दुर्गम क्षेत्रका नागरिकको आवागमनमा समेत कठिनाइ उत्पन्न गरेको छ।
हवाई सेवामा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय बढाउने र उडानलाई थप व्यवस्थित बनाउने विषय छलफलको मुख्य केन्द्रमा रहेको जनाइएको छ।
