काठमाडौंका सार्वजनिक बसको लोकेसन र आगमन समय अब मोबाइलमै हेर्न सकिने
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले अब आफूले पर्खिरहेको बस कहाँ आइपुगेको छ र गन्तव्यतर्फ आउन कति समय लाग्छ भन्ने जानकारी मोबाइलबाटै लिन सक्ने भएका छन्।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सञ्चालनमा ल्याएसँगै यात्रुलाई सार्वजनिक बसको वास्तविक अवस्थाबारे जानकारी लिन सहज हुने भएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं परिषद् अध्यक्ष सुनिता डंगोलले परिषद्को तेस्रो बैठकका क्रममा एप सार्वजनिक गरेकी हुन्।
हाल एपमा जीपीएस प्रणाली जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारीसाधनको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा थप सवारीलाई जीपीएस प्रणालीमा जोड्दै सेवा विस्तार गर्ने तयारी प्राधिकरणको छ।
रात्रिकालीन यातायात विस्तारमा जोड
परिषद् बैठकले उपत्यकाको सार्वजनिक यातायातलाई यात्रुमैत्री र व्यवस्थित बनाउँदै रात्रिकालीन सेवा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
कार्यवाहक प्रमुख डंगोलले विद्यार्थी तथा बिहानै काममा जाने यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताइन्। सार्वजनिक यातायात कुनै एउटा स्थानीय तहको मात्र विषय नभएकाले काठमाडौं, ललितपुर र भक्तपुरसहित सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस प्रयोग गर्दा सहज र भरपर्दो अनुभूति गर्ने गरी प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।
जीपीएससँगै नगदरहित भाडा प्रणालीको तयारी
चालु आर्थिक वर्षमा उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि बस स्टप निर्धारण, रात्रिकालीन बस सञ्चालनको नमुना तयार गर्ने, जीपीएसमा आधारित सूचना प्रणाली विस्तार गर्ने तथा नगदरहित भाडा प्रणाली लागू गर्न आवश्यक कानुनी तयारी गर्ने कार्यक्रम अघि बढाइएको छ।
यात्रुले टिकट लिने संस्कार विकास गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णयसमेत परिषद्ले गरेको छ।
प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीले विगतमा संस्थागत पुनर्संरचनाको अन्योलका कारण केही काम प्रभावित भए पनि अहिले नयाँ कार्यक्रमसहित अघि बढ्ने अवस्था बनेको बताए।
सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने क्रममा वास्तविक समयको सूचना प्रणाली, एकीकृत नगदरहित भुक्तानी, व्यवस्थित बस बिसौनी, अपाङ्गतामैत्री पूर्वाधार र यात्रु सुविधालाई समेत प्राथमिकतामा राखिएको छ।
प्राधिकरणको प्रमुख उद्देश्य उपत्यकाको सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो, वातावरणमैत्री र यात्रुमैत्री बनाउनुका साथै रुट व्यवस्थापनदेखि सेवा शुल्क निर्धारणसम्मका विषयलाई व्यवस्थित गर्नु रहेको छ।
