आइसिसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, तेस्रो स्थानमा
काठमाडौं । नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ वरियतामा उल्लेखनीय सुधार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
आइसिसीले सार्वजनिक गरेको पछिल्लो टी–२० अलराउन्डर वरियतामा ऐरी २५६ रेटिङ अंकसहित तेस्रो स्थानमा पुगेका हुन्। उनको यो उपलब्धिले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अलराउन्ड प्रदर्शनको स्तरलाई समेत उजागर गरेको छ।
वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका कप्तान सिकन्दर राजा छन्। उनी ३२० अंकसहित पहिलो स्थानमा रहँदा पाकिस्तानका साइम अयुब २७५ अंकसहित दोस्रो स्थानमा छन्।
अब हुने एसिसी प्रिमियर कपमा ऐरीले उत्कृष्ट प्रदर्शन गर्न सके उनी शीर्ष स्थानका लागि थप बलियो दाबेदार बन्नेछन्।
नेपालका अन्य खेलाडीमध्ये कुशल भुर्तेल टी–२० अलराउन्डर वरियतामा २७औँ स्थानमा छन्। त्यस्तै, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा छन्।
ऐरीको पछिल्लो वरियता नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। विशेषगरी ब्याटिङ र बलिङ दुवैतर्फ प्रभाव पार्न सक्ने उनको क्षमताले उनलाई विश्व क्रिकेटकै शीर्ष टी–२० अलराउन्डरमध्ये उभ्याएको छ।
