बाँदर–बँदेलबाट बच्न टिमुरतर्फ किसानको आकर्षण
पाल्पा । बाँदर र बँदेलका कारण अन्नबाली जोगाउन कठिन भएपछि पाल्पाका किसानले टिमुरखेतीलाई वैकल्पिक आम्दानीको माध्यम बनाउन थालेका छन्। मकै, कोदो लगायतका बाली वन्यजन्तुले नष्ट गर्ने समस्या बढ्दै गएपछि किसानले बारी, कान्ला, बाँझो जमिन र वन आसपासका क्षेत्रमा टिमुर लगाउन थालेका हुन्।
तिनाउ गाउँपालिका–कचलका मीनबहादुर सारुका अनुसार वनसँग जोडिएका क्षेत्रमा परम्परागत अन्नबाली लगाएर उत्पादन भित्र्याउनै मुस्किल हुन्छ। त्यसैले पछिल्लो समय अधिकांश किसान टिमुरतर्फ आकर्षित भएका छन्। टिमुरमा वन्यजन्तुको क्षति कम हुने र बजारसमेत पाइने भएकाले यसबाट आम्दानीको सम्भावना बढेको उनको भनाइ छ।
रिब्दीकोट गाउँपालिका–ढुस्टुङकी तारा बगालेले पनि मकैखेती घटाएर टिमुरका बिरुवा लगाएकी छन्। उनले अहिले आफ्नो बारीमा करिब ५० वटा टिमुरका बिरुवा हुर्काइरहेकी छन्। उनका अनुसार वर्षभरि मेहनत गरेर लगाएको मकै पाक्ने बेलासम्म बाँदर र बँदेलले नष्ट गरिदिने समस्या भएपछि टिमुर रोज्नुपरेको हो।
निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट बिरुवा लिएर टिमुरखेती सुरु गरेका छन्। वन्यजन्तुको बढ्दो क्षतिका कारण अन्नबालीबाट अपेक्षित प्रतिफल लिन नसकेपछि उनले नयाँ विकल्पका रूपमा टिमुरलाई रोजेका हुन्।
रैनादेवी छहरा क्षेत्रका किसान ध्रुवबहादुर रानाका अनुसार सुरुमा बारीका कान्लामा टिमुर लगाउँदा धेरैले चासो दिएका थिएनन्। तर यसबाट राम्रो आम्दानी हुन थालेपछि अहिले टिमुरखेती विस्तार गर्ने किसानको संख्या बढेको छ। उनका अनुसार पाल्पाका दुई हजारभन्दा बढी किसानले टिमुरबाट आम्दानी लिन थालेका छन्। उत्पादन र बिक्रीको समयमा किसानले वार्षिक करिब एक लाखदेखि तीन लाख रुपैयाँसम्म कमाउने गरेका छन्।
डिभिजन वन कार्यालय पाल्पाका अनुसार जिल्लाको भौगोलिक अवस्था र हावापानी टिमुरखेतीका लागि अनुकूल छ। अग्ला तथा ओसिला क्षेत्रसहित जिल्लाका धेरै ठाउँमा यसको विस्तार गर्न सकिने सम्भावना रहेको कार्यालयले जनाएको छ।
कार्यालयले पछिल्ला वर्षमा टिमुरलाई व्यावसायिक खेतीका रूपमा विस्तार गर्न किसानलाई बिरुवा उपलब्ध गराउँदै आएको छ। पहिलो वर्ष १० हजार बिरुवा वितरण गरिएकोमा त्यसपछि किसानको मागअनुसार वार्षिक २० हजारसम्म बिरुवा वितरण गरिएको कार्यालयको भनाइ छ। पछिल्लो समय माग बढेपछि आवश्यक परिमाणमा बिरुवा उपलब्ध गराउनसमेत चुनौती देखिएको छ।
वन कार्यालयका अनुसार टिमुर एकपटक स्थापित भएपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले किसानका लागि दीर्घकालीन आम्दानीको स्रोत बन्न सक्छ। अन्य अन्नबालीमा वन्यजन्तुको क्षति हुने क्षेत्रका लागि यसको व्यावसायिक खेती थप उपयोगी देखिएको छ।
यसरी वन्यजन्तुको बढ्दो दबाबले परम्परागत खेती संकटमा पर्दै गर्दा पाल्पाका किसानले टिमुरमार्फत त्यसै समस्यालाई अवसरमा बदल्न थालेका छन्। कम क्षति, तुलनात्मक रूपमा कम श्रम र बजारको सम्भावनाका कारण टिमुर जिल्लाका ग्रामीण क्षेत्रमा वैकल्पिक नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ।
