दुई वर्षको ठेक्का, दशक बित्दा पनि अधुरै सडक
बागलुङ । सदरमुकाम हुँदै जाने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ सडकखण्ड ठेक्का सम्झौता भएको एक दशक पुग्दा पनि कालोपत्र हुन सकेको छैन। दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सम्झौता भएको यो सडक अहिले पुनः नयाँ ठेक्काको प्रक्रियामा पुगेको छ।
बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी पाएको भारत/सिद्धिसाई जेभीले पटक–पटक म्याद थप्दा पनि काम पूरा नगरेपछि गत पुस १७ गते सम्झौता रद्द गरिएको थियो। अब सडक निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
आयोजना कार्यालयका अनुसार ठेक्का रद्द भइसकेकाले पुरानो निर्माण कम्पनीबाट रकम असुल गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। अध्ययन प्रतिवेदनले ठेकेदारबाट करिब ९ करोड ३६ लाख रुपैयाँ असुल गर्नुपर्ने देखाएको छ।
नयाँ ठेक्काका लागि आवश्यक लागत अनुमान, पुरानो निर्माणबाट बाँकी काम तथा थप गर्नुपर्ने पूर्वाधारको अध्ययनसहित करिब २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको छ। आयोजना कार्यालयका सूचना अधिकारी उज्ज्वल शर्माका अनुसार नयाँ ठेक्का छिट्टै खोल्ने तयारी छ र प्रक्रिया पूरा भए करिब चार महिनाभित्र ठेक्का लाग्न सक्नेछ।
बागलुङ–बिहुँको १३ किलोमिटर सडक निर्माणका लागि २०७३ साल माघ १४ गते भारत/सिद्धिसाई जेभीसँग ४३ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको थियो। दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि निर्माण कम्पनीले हालसम्म ३४ करोड ३ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।
सडक निर्माणमा भएको लामो ढिलाइको प्रत्यक्ष मार भने यात्रुले खेपिरहेका छन्। वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रु तथा स्थानीयवासीलाई सास्ती हुने गरेको छ। वर्षाका कारण सडक थप जीर्ण बनेको छ भने कालोपत्र गरिएका स्थानमा समेत खाल्डाखुल्डी परेका छन्।
ठेक्का रद्द भएपछि सडकको अवस्था झन् बिग्रँदै गएको छ। समयमै निर्माण सम्पन्न हुन नसक्दा सार्वजनिक लगानीको प्रभावकारितामाथि प्रश्न उठेको छ भने अधुरो पूर्वाधारले स्थानीय बासिन्दा र यात्रुको दैनिक आवागमन थप कठिन बनाएको छ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक एक दशकसम्म पनि अधुरै रहनुले ठेक्का व्यवस्थापन, निर्माण कम्पनीको कार्यसम्पादन र आयोजना अनुगमन प्रणालीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।
