रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी अझै सम्पर्कमा आएनन्
काठमाडौं । रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका बैंक शाखामा कार्यरत ८ वाणिज्य बैंकका २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।
तिब्बती क्षेत्रबाट आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा रहेका बैंक शाखामा ठूलो क्षति पुर्याएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ। बाढीबाट विभिन्न बैंकका ९ वटा शाखा प्रभावित भए पनि सम्पर्कविहीन कर्मचारी ८ शाखासँग सम्बन्धित छन्।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार सम्पर्क हुन नसकेका कर्मचारीहरू बाढी प्रभावित क्षेत्रमै कार्यरत थिए। तीमध्ये केही शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको उनले बताए।
बाढीबाट प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा प्रभावित भएका छन्।
एसोसिएसनले अहिले शाखा तथा बैंकिङ पूर्वाधारको क्षतिभन्दा कर्मचारीको अवस्थालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। कर्मचारीसँग सम्पर्क स्थापित भएपछि मात्रै शाखा, उपकरण तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण संकलन गरिने बताइएको छ।
बाढी प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भएकाले उद्धार तथा अवस्थाबारे जानकारी लिन समस्या भइरहेको छ। बाढीले टेलिफोन तथा इन्टरनेटका टावरमा समेत क्षति पुर्याएकाले सम्पर्क स्थापित गर्न थप कठिन भएको शर्माले बताए।
यसैबीच, सोही क्षेत्रका विकास बैंकहरूमा भने हालसम्म ठूलो क्षति भएको जानकारी नआएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ।
