रसुवा बाढीपछि ३८४ पर्यटकसँग सम्पर्क टुट्यो
काठमाडौं । रसुवामा आएको बाढीका कारण ३८४ नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन्। ट्राभल एजेन्सी, पर्यटकका गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरणलाई आपसमा पुष्टि गरेपछि बोर्डले प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
प्राप्त विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट रसुवा पुगेका ७१ जना सम्पर्कविहीन छन्। तीमध्ये ५९ भारतीय र १२ नेपाली छन्। काठमाडौं होलिडेजका १७ जना, लिफ होलिडेजका ५५ जना र कैलास जर्नीका ३१ जना पर्यटकसँग पनि सम्पर्क हुन सकेको छैन।
त्यस्तै, एक्स्प्लोर भ्याकेसनका ७ नेपाली, ट्रेकर्स सोसाइटीका ९२, रिचा टुर्स एन्ड ट्राभल्सका १२ तथा फिस्टेल टुर्स एन्ड ट्राभलका २७ जना सम्पर्कविहीन रहेको बोर्डको तथ्यांक छ।
हिमालयन ग्लेसियरबाट गएका ५२ जना र अल्पाइन इको ट्रेकका २० जना पर्यटक पनि सम्पर्कविहीनको सूचीमा छन्।
बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात पूर्वाधारमा क्षति पुगेकाले पर्यटकसँग तत्काल सम्पर्क स्थापित गर्न कठिन भइरहेको छ। पर्यटन बोर्डले सम्बन्धित ट्राभल कम्पनी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायमार्फत पर्यटकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
रसुवा नेपालका प्रमुख हिमाली तथा पदयात्रा गन्तव्यमध्ये एक भएकाले बाढीको घटनाले विदेशी पर्यटकसहितको पर्यटन गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पारेको छ। सम्पर्कविहीन पर्यटकको यकिन अवस्था पत्ता लगाउनु अहिले उद्धार तथा पर्यटन क्षेत्रको प्रमुख प्राथमिकता बनेको छ।
