भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि नेपालमा सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट विवरण संकलन गरी पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।
बोर्डको विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका १७८ पर्यटक सम्पर्कविहीन रहेको पाइएको छ। त्यस्तै नेपालका १२७, अमेरिकाका ६५ र युक्रेनका ५३ पर्यटकको अवस्था पनि अझै यकिन हुन सकेको छैन।
अन्य मुलुकतर्फ मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन छन्। सिंगापुर रुस तथा जर्मनीका क्रमशः ९, ८ र ८ जना पर्यटकको पनि सम्पर्क हुन नसकेको बोर्डले जनाएको छ।
त्यसैगरी लात्भिया र दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
पर्यटन क्षेत्रमा बढ्दो विपद् जोखिम
भोटेकोशीमा आएको बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पुर्याउनुका साथै पर्यटकीय आवागमनमा समेत गम्भीर असर पारेको छ। सडक र पुलमा भएको क्षतिका कारण कतिपय क्षेत्रमा पर्यटकको आवतजावत अवरुद्ध भएको छ भने सम्पर्क स्थापित गर्नसमेत कठिनाइ भएको छ।
नेपालमा पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनका लागि विदेशी तथा स्वदेशी पर्यटकको आगमन हुने दुर्गम हिमाली तथा पहाडी क्षेत्र प्राकृतिक विपद्को उच्च जोखिममा छन्। पछिल्लो घटनाले पर्यटन क्षेत्रको विपद् पूर्वतयारी, पर्यटकको डिजिटल ट्र्याकिङ, आपत्कालीन सूचना प्रणाली र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।
पर्यटन बोर्डले ट्राभल एजेन्सी र पर्यटन व्यवसायीसँग समन्वय गरी सम्पर्कविहीन पर्यटकको विवरण अद्यावधिक गर्ने तथा खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस
