मानसरोवर यात्रामा गएका ४० सवारी अझै सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि मानसरोवर यात्रामा गएका ४० वटा यात्रुवाहक सवारी साधनको अवस्था अझै पत्ता लाग्न सकेको छैन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बाढीका कारण ती सवारी तथा तिनमा सवार यात्रुहरू सम्पर्कविहीन भएको जनाएको छ।
महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार प्रारम्भिक विवरणमा अरनिको सेवा प्रालिका २५ र नमस्ते पासाङ ल्हामु यातायात कम्पनीका १५ वटा बस सम्पर्कविहीन छन्।
अरनिकोका ५० कर्मचारी बेपत्ता
अरनिको यातायातका मात्रै चालक र सहचालक गरी ५० जना बस कर्मचारी सम्पर्कविहीन रहेको महासंघले जनाएको छ। तीमध्ये तीन जना भने पछिल्लो समय सम्पर्कमा आएका छन्।
बाढीका कारण सडक तथा पुलमा ठूलो क्षति भएपछि यात्रुवाहक सवारीको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भइरहेको व्यवसायीहरूले बताएका छन्। मानसरोवर यात्राका लागि गएका यात्रुहरू कुन क्षेत्रमा रोकिएका छन् वा सवारी कहाँ पुगेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन।
यातायात व्यवसायमा ठूलो क्षति
नमस्ते पासाङ ल्हामु यातायात कम्पनीअन्तर्गत सार्वजनिक यातायात सञ्चालन गर्ने सवारीधनीहरूले समेत ठूलो क्षति बेहोर्नुपरेको महासंघले जनाएको छ।
रसुवाको सडक तथा पुल संरचना बाढीबाट क्षतिग्रस्त भएपछि उत्तरी क्षेत्रसँगको यातायात सम्पर्क अवरुद्ध छ। यसले यात्रु, चालक तथा सवारी साधनको खोजी र उद्धारमा थप चुनौती थपिएको छ।
महासंघले सम्पर्कविहीन सवारी तथा यात्रुको यकिन विवरण संकलन गर्ने र सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारमा सहयोग गर्ने जनाएको छ।
