रसुवा बाढीपीडितका लागि सरकारले तोक्यो आवश्यक राहत सामग्री
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्रीको सूची सरकारले सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन दातृ निकाय, निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजसँग सूचीअनुसारका सामग्री उपलब्ध गराउन आग्रह गरेको हो।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न प्राधिकरणले राहत सामग्रीलाई विभिन्न समूहमा वर्गीकरण गरेको छ। प्राधिकरणका अनुसार प्रभावित परिवारका लागि टेन्ट, त्रिपाल, डोरी, कम्बल, म्याट र स्लिपिङ ब्याग जस्ता आवास तथा अस्थायी बसोबासका सामग्री आवश्यक छन्।
खाना पकाउने प्रयोजनका लागि ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, बाल्टी र जग माग गरिएको छ। त्यस्तै सरसफाइ तथा स्वास्थ्य सुरक्षाका लागि स्यानिटरी प्याड, साबुन, स्यानिटाइजर, मास्क, पियुस र क्लोरिन ट्याब्लेट लगायतका सामग्री सूचीमा राखिएको छ। बालबालिका तथा किशोरीका लागि आवश्यक स्वच्छता सामग्रीसमेत उपलब्ध गराउन भनिएको छ।
बिजुली तथा सञ्चारको समस्या समाधान गर्न टर्चलाइट, पावर बैंक, ब्याट्री, सोलार बत्ती, सोलार प्यानल र जेनेरेटर आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
खाद्यान्नतर्फ हाइ इनर्जी बिस्कुट, तयारी खानेकुरा, चामल, दाल, आलु, खानेतेल, नुन, चिउरा, गेडागुडी, सुकेको च्याउ, ड्राइ फ्रुट्स तथा मसलाजन्य सामग्रीलाई प्राथमिकतामा राखिएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा आवागमन पुनः सञ्चालनका लागि ५० देखि ७० मिटर लम्बाइका बेलीब्रिज समेत आवश्यक रहेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा प्रयोग हुने विशेष उपकरणको प्राविधिक विवरण भने प्राधिकरणको वेबसाइटमार्फत उपलब्ध गराइएको छ।
कहाँ बुझाउने राहत सामग्री ?
हवाईमार्गबाट पठाइने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदाममा बुझाउन सकिने व्यवस्था गरिएको छ। स्थलमार्गबाट आउने सामग्री भने काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक वा रसुवाको धुन्चेस्थित जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिनेछ।
स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर राहत सामग्री प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पनि पुर्याउन सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तोकेको सूचीमा नपरेका अन्य सामग्री सहयोग गर्न चाहने दाताले भने सम्बन्धित विवरण उपलब्ध गराई प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।
राहत संकलन तथा वितरणलाई व्यवस्थित बनाउन प्राधिकरणले विभिन्न केन्द्रका लागि सम्पर्क व्यक्ति समेत तोकेको छ। बाढीपीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्दै उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सूचीअनुसार सामग्री उपलब्ध गराउन प्राधिकरणले सबै पक्षलाई आग्रह गरेको छ।
