बाढीबाट मृत्यु हुनेको संख्या ६६९ पुग्यो, अझै २ हजार ४२६ जना बेपत्ता
काठमाडौं — भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ४ बजेसम्म विभिन्न बाढी प्रभावित क्षेत्रबाट ६६९ जनाको शव फेला परेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ। त्यहाँ २४८ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीमा फसेका २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। उद्धार गरिएकामध्ये नुवाकोटका मात्रै १ हजार ६२२ जना छन्। रसुवाबाट ६७६ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।
बाढीमा परी गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेको प्रहरीले जनाएको छ।
अझै २ हजार ४२६ जना सम्पर्कविहीन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भदौ १३ गते बिहान १० बजेसम्मको विवरणअनुसार २ हजार ४२६ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये जलविद्युत आयोजनामा कार्यरत ९३३ जना छन्। त्यस्तै ५१७ जना विदेशी नागरिक र १२७ जना गैरआवासीय तथा विदेशमा बस्ने नेपाली रहेको विवरणमा उल्लेख छ।
जिल्लागत विवरणअनुसार रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन छन्।
त्यसैगरी बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन्। नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
अन्य निकायका कर्मचारी तथा अधिकारीमध्ये भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना सम्पर्कविहीन छन्।
खोजी तथा उद्धार जारी
बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई सुरक्षा निकायले तीव्रता दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका उद्धार टोलीले जोखिमयुक्त क्षेत्रहरूमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।
प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धारसँगै मानवीय तथा भौतिक क्षतिको विवरण संकलनलाई पनि प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
