बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन
काठमाडौं — बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा प्राविधिक सहयोगका लागि चीनबाट विज्ञ टोली नेपाल आइपुगेको छ।
सरकारको अनुमतिमा शनिबार दिउँसो चिनियाँ विज्ञहरूको ६ सदस्यीय टोली नेपाल आएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ। टोली चिनियाँ हेलिकप्टरमार्फत सिधै त्रिशूली क्षेत्रमा पुगेको हो।
नेपाल आएलगत्तै चिनियाँ विज्ञ टोलीले नेपाली सेनाका प्राविधिक तथा उद्धार विज्ञसँग समन्वय गर्दै संयुक्त रूपमा काम थालेको छ।
टोलीको मुख्य जिम्मेवारी बाढीका कारण प्रभावित सुरुङ क्षेत्रको भित्री अवस्था अध्ययन गर्नु तथा उद्धारका लागि सम्भावित उपाय पहिचान गर्नु रहेको जनाइएको छ। त्यसका लागि सुरुङभित्रको अवस्था र उद्धारको सम्भावनाबारे प्राविधिक ‘रेकी’ अर्थात् स्थलगत अनुगमन गरिनेछ।
प्रारम्भिक प्राविधिक अध्ययनबाट सुरुङभित्र फसेकाहरूको उद्धार सम्भव देखिएमा रसुवा सीमाक्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा परिचालन गर्ने योजना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि नेपाली सेना र चिनियाँ विज्ञसहितको संयुक्त टोलीले फसेका श्रमिकको उद्धारका लागि आवश्यक सबै सम्भावित उपाय अपनाइरहेको सचिवालयले जनाएको छ।
सरकारले नेपाली तथा चिनियाँ प्राविधिक जनशक्तिको संयुक्त प्रयासबाट सुरुङभित्र फसेका श्रमिकलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासलाई तीव्र बनाएको छ।
