बाढीले कृष्णभीरको सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा बाढीले सडकको ठूलो हिस्सा भासिएपछि यातायात आवागमन पूर्णरूपमा प्रभावित भएको छ ।
आइतबार आएको बाढीले सडक किनारमा तीव्र कटान गरेपछि सडकको केही भाग नदीतर्फ बगेको हो । सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत उक्त स्थान पार गर्न कठिन भएको छ ।
सडक भासिएपछि सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । सडकमा थप कटानको जोखिमसमेत रहेकाले यात्रु तथा चालकलाई उक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । काठमाडौं–चितवन हुँदै पूर्व–पश्चिमतर्फ जाने तथा सो दिशाबाट आउने यातायातसमेत प्रभावित भएको छ ।
त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गका अन्य स्थानमा समेत कटान र क्षति पुर्याउँदै आएको छ । कृष्णभीरमा सडकको ठूलो भाग नै भासिएकाले तत्काल नियमित यातायात सञ्चालनमा ल्याउन चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
