भोटेकोसी बाढी : ३ हजार २९ जनाको उद्धार, १ हजार ५५८ जना अझै बेपत्ता
नुवाकोट— भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न स्थानमा अलपत्र परेका ३ हजार २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २ हजार ७७६ नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार पछिल्लो २४ घण्टामै ६२४ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।
बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेकाहरूलाई उद्धारपछि स्वास्थ्य परीक्षण गरिएको छ। उपचार आवश्यक देखिएकालाई स्वास्थ्य संस्थामा पठाइएको र अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको प्रजिअ रेग्मीले जानकारी दिए।
जलविद्युत् आयोजनाका सुरुङबाहेक खोजी जारी
भोटेकोसी बाढीका कारण अलपत्र परेकाको खोजी तथा उद्धार अभियान अझै जारी छ। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिबाहेक अन्य क्षेत्रमा उद्धारको काम धेरै हदसम्म अघि बढाइएको प्रशासनले जनाएको छ।
तर टिमुरे, स्याफ्रुबेँसी र मैलुङलगायत क्षेत्रमा अझै मानिस फसेको हुन सक्ने आशंकामा हेलिकोप्टरबाट नियमित रेकी भइरहेको छ।
यसैबीच, बाढीमा परेर आफन्त सम्पर्कविहीन भएको भन्दै ठूलो संख्यामा परिवारले खोजीका लागि निवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबारसम्म १ हजार ५५८ जना बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन परेको छ। नुवाकोट र रसुवाका विभिन्न ठाउँबाट बेपत्ता भएकाहरूको विवरण प्रहरीमा संकलन भइरहेको छ।
हराइरहेका व्यक्तिको खोजीका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
हेलिकोप्टरदेखि ड्रोन र तालिमप्राप्त कुकुरसम्म परिचालन
बेपत्ता तथा बाढीमा फसेकाको खोजीका लागि संयुक्त सुरक्षा टोलीले हेलिकोप्टर, ड्रोन क्यामेरा र तालिमप्राप्त कुकुर प्रयोग गरिरहेको छ।
खोजी तथा उद्धारका लागि नुवाकोट र रसुवाका विभिन्न जोखिमयुक्त क्षेत्रमा सुरक्षा टोली परिचालन गरिएको छ। कठिन भूगोल र बाढीले क्षतिग्रस्त संरचनाका कारण खोजी कार्य भने चुनौतीपूर्ण बनेको छ।
नुवाकोटमा ९५ शव भेटिए
बाढीमा परी मृत्यु भएकामध्ये नुवाकोटका विभिन्न स्थानबाट हालसम्म ९५ जनाको शव संकलन गरिएको छ। जिल्लाका करिब ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोजीका क्रममा ती शव फेला परेका हुन्।
पहिचान हुन बाँकी शवको विवरण प्रहरीले तस्वीरसहित सार्वजनिक गरेको छ। शव परीक्षणका लागि नुवाकोटबाट काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रशासनले जनाएको छ।
सम्बन्धित परिवारलाई बेपत्ता तथा मृतकको पहिचानका लागि शिक्षण अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
