कृष्णभीरमा सडक भासिएपछि तत्काल खुल्ने सम्भावना न्यून, वैकल्पिक मार्गको खोजी
चितवन — पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि तत्काल मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने सम्भावना न्यून देखिएको छ। त्रिशूली नदीले सडकको तल्लो भाग निरन्तर कटान गरेपछि सडक थप भासिने जोखिम बढेकाले वैकल्पिक मार्गको खोजी सुरु गरिएको हो।
आइतबार बिहानदेखि सडक भासिन थालेको कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडकमा चिरा परेको र केही भाग भासिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि पैदल आवतजावतसमेत रोकिएको छ।
आयोजनाका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार त्रिशूलीको कटान निरन्तर रहेकाले सडक तत्काल मर्मत गरी सञ्चालन गर्न सकिने अवस्था छैन। नदीले सडकको जग नै कमजोर बनाइरहेकाले थप क्षति हुन सक्ने उनको भनाइ छ।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा रहेको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको छ। विज्ञहरूको विस्तृत अध्ययनपछि मात्र सडक कसरी पुनःस्थापना गर्ने भन्ने टुंगो लाग्नेछ।
‘त्रिशूलीले सडकको फेद निरन्तर काटिरहेको छ। कति भाग थप भासिन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ अधिकारीले भनिन्।
सडकको माथिल्लो भागमा बस्ती रहेकाले भित्तो काटेर सडक फराकिलो बनाउने विकल्प पनि सहज नभएको उनले बताइन्। त्यसैले तत्कालका लागि वैकल्पिक सडकलाई प्राथमिकता दिइएको हो।
गोरखा र धादिङतर्फका सडकको अध्ययन
कृष्णभीरबाट यातायात सञ्चालन गर्न नसकिने भएपछि धादिङको बेनीघाट–आरूघाट–गोरखा तथा गल्छी–सुनौलो बजार–धादिङबेंसी–सल्यानटार हुँदै गोरखा जाने सडकसहित अन्य सम्भावित मार्गको अध्ययन भइरहेको आयोजनाले जनाएको छ।
राजमार्गको अर्को किनारतर्फ पुगेर तुलनात्मक रूपमा सुरक्षित सडक प्रयोग गर्दै गन्तव्यसम्म पुग्ने विकल्पसमेत खोजिँदै छ। तत्काल सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने सडक पहिचान गरी प्रयोगमा ल्याउने तयारी भइरहेको अधिकारीले बताइन्।
पूर्वतर्फबाट आउने सवारीलाई मकवानपुरतर्फका सडक प्रयोग गराउने र पश्चिम तथा पोखरा जाने सवारीका लागि गोरखा हुँदै वैकल्पिक मार्ग उपलब्ध गराउनेबारे अध्ययन भइरहेको छ।
पृथ्वी राजमार्ग राजधानी काठमाडौंसँग देशका विभिन्न भाग जोड्ने प्रमुख ‘लाइफलाइन’ सडक भएकाले कृष्णभीरको अवरोधले ठूलो प्रभाव पार्न सक्छ। दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने यो सडकबाट ग्यासका बुलेटलगायत ठूला मालवाहक सवारीसमेत काठमाडौं भित्रिने गर्छन्।
कृष्णभीर क्षेत्रमा विगतमा पनि पहिरो र सडक कटानका कारण पटक–पटक समस्या आउने गरेको थियो। पछिल्ला वर्षमा पहिरो नियन्त्रण तथा सडक मर्मतका काम भएपछि अवस्था सुधारिएको थियो। तर अहिले त्रिशूली नदीको तीव्र कटानका कारण सडकको संरचनामै जोखिम उत्पन्न भएको हो।
