नुवाकोटको बेत्रावतीमा एउटै भवनमा २४ शव
नुवाकोट — बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीमा एउटा घरभित्रबाट २४ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उक्त घरमा सोमबार खोजी गर्दा २४ वटा शव भेटिएका हुन्। भवनभित्र अझै खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
एसपी रेग्मीले घरमा थप शव भए/नभएको यकिन गर्न खोजी भइरहेको बताए। घटनास्थलमा भेटिएका शवको पहिचान तथा घटनाको थप विवरण संकलन गर्ने काम पनि भइरहेको छ।
प्रहरीका अनुसार उक्त भवनको वास्तविक स्वामित्व र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। भवन होटल वा गेस्टहाउस हुनसक्ने आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन। स्थानीय जनप्रतिनिधिसँग समेत सम्पर्क हुन नसकिरहेको प्रहरीले जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि विभिन्न स्थानमा बेपत्ता भएकाहरूको खोजी तथा शव संकलनको काम जारी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन भएर उद्धार तथा खोजी कार्यमा जुटेको छ।
