भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा आए
काठमाडौं— भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ
बोर्डले सार्वजनिक गरेको पछिल्लो ‘सिचुएसन अपडेट–११’ अनुसार उद्धारपछि थप पाँच जना विदेशी नागरिक सम्पर्कमा आएका छन्। यद्यपि अझै ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। बोर्डका अनुसार भारतका १८७ र चीनका १०८ जना उद्धार भएका छन्। यस्तै जर्मनी र माल्टाका चार–चार, इटाली, रुस, टर्की र अमेरिकाका दुई–दुई जना नागरिकको उद्धार गरिएको छ।
त्यसैगरी बुल्गेरिया, ओमान, पोर्चुगल र स्वीट्जरल्यान्डका एक–एक जना नागरिकलाई पनि सुरक्षित स्थानमा ल्याइएको बोर्डले जनाएको छ।
उद्धार भएका तथा सम्पर्कमा आएका पाँच जनामध्ये तीन जना स्पेनका, एक जना अमेरिकाका र एक जना बेल्जियमका नागरिक रहेको पर्यटन बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा विदेशी नागरिक तथा पर्यटकको खोजी, पहिचान, उद्धार र सुरक्षित स्थानान्तरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटक प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय भइरहेको छ।
सम्पर्कविहीन ५८३ विदेशी नागरिकको अवस्थाबारे खोजी तथा विवरण संकलनको काम जारी रहेको बोर्डले जनाएको छ। साथै प्रभावित क्षेत्रमा रहेका घाइते तथा अन्य व्यक्तिको उद्धार र राहत कार्यसमेत सञ्चालन भइरहेको छ।
मनसुन अझै मध्य सेप्टेम्बरसम्म रहने भएकाले पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका तथा आउन लागेका विदेशी पर्यटकलाई यात्राअघि सडक र मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
विशेषगरी धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरोले सडक बगाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा प्रभावित भएको बोर्डले जनाएको छ। नदी कटानका कारण सडकका केही भागमा समेत क्षति पुगेको छ।
प्रभावित जिल्लामा यात्रा गर्ने पर्यटकलाई स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न तथा यात्रा सुरु गर्नुअघि सडकको अवस्था यकिन गर्न बोर्डले अनुरोध गरेको छ।
तर रसुवा, नुवाकोट, धादिङ र गोरखामा भोटेकोशी–त्रिशूली नदी करिडोरमा परेको प्रभावित क्षेत्रबाहेक देशका अन्य अधिकांश पर्यटकीय गन्तव्य र गतिविधि सामान्य रूपमा सञ्चालनमा रहेको बोर्डले स्पष्ट पारेको छ।
