भोटेकोशी बाढी : १६ लाख प्रभावित, रसुवा–नुवाकोटमा पूर्वाधारदेखि बस्तीसमेत तहसनहस
काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते आएको हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले देशका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । सरकारी प्रारम्भिक विवरणअनुसार विपद्बाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनले रसुवा र नुवाकोटलाई सबैभन्दा बढी प्रभावित जिल्लाका रूपमा देखाएको छ । धादिङ, गोरखा र चितवन पनि बाढीपहिरोबाट प्रभावित भएका छन् ।
बाढीपहिरोमा परी हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ९१६ जना अझै बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ ।
रसुवा र नुवाकोटमा क्षतिको चाप
भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीले सडक, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था, सञ्चार तथा खानेपानीका संरचनामा व्यापक क्षति पुर्याएको छ ।
बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप चार पुलमा क्षति पुगेको छ । नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १ हजार २५३ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण छ ।
स्याटेलाइटबाट गरिएको नक्साङ्कनअनुसार भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा परेका छन् ।
रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भएका छन् । उनीहरू केही दिनदेखि प्रभावित क्षेत्रमा अलपत्र अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
रसुवाका प्रमुख सडकमार्गसमेत अवरुद्ध भएका छन् । उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा बन्द हुँदा जिल्लाको आवागमन थप कठिन बनेको छ ।
११ हजारभन्दा बढीको उद्धार
विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये २५३ जना विदेशी नागरिक छन् ।
हवाई उद्धारमार्फत मात्रै ३ हजार ७०२ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यसका लागि ५७३ वटा हवाई उडान सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । भारत, चीन र दक्षिण कोरियाबाट आएका टोली पनि खोज तथा उद्धारमा सहभागी छन् ।
अस्पतालमा अझै घाइते उपचाररत
विभिन्न स्वास्थ्य संस्थामा २७९ जना घाइतेको उपचार गरिएकोमा ७९ जना अझै उपचाररत छन् । १६८ जना उपचारपछि घर फर्किएका छन् भने उपचारकै क्रममा तीन जनाको मृत्यु भएको छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २ हजार ७४० जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।
जलविद्युत् क्षेत्रमा ठूलो धक्का
बाढीको प्रभाव जलविद्युत् क्षेत्रमा पनि गम्भीर देखिएको छ । रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मैलुङ खोला, देवीघाटलगायतका आयोजना प्रभावित भएका छन् ।
प्रतिवेदनअनुसार जलविद्युत् तथा सौर्य आयोजनासहित ७८३.३८५ मेगावाट जडित क्षमताका आयोजना प्रभावित भएका छन् । सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेको छ ।
विद्यालय र स्वास्थ्य संस्था पनि प्रभावित
रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् । तीमध्ये आठ विद्यालय पूर्ण रूपमा र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । तीन विद्यालय मात्र सुरक्षित अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्यतर्फ रसुवाका स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् ।
गल्छीको बैरेनी अस्पताल र चरौँदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि क्षति पुगेको छ ।
खानेपानी र सञ्चारमा समेत असर
नुवाकोटका धुङ्गे र विदुरस्थित दुई फोहोरपानी प्रशोधन केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विदुर खानेपानी आयोजनाको करिब ४.५ किलोमिटर पाइपलाइन र तीन वटा सम्प वेल बगेका छन् ।
यसबाट मात्रै करिब ४ हजार घरधुरी प्रभावित भएका छन् । त्रिशूली कोलोनी, देवीघाट र बेत्रावतीका खानेपानी आयोजनामा क्षति हुँदा थप ४६५ घरधुरी प्रभावित भएका छन् ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका ११० र एनसेलका ७८ मोबाइल टावरमा क्षति पुगेको छ ।
सडक बन्द, आवागमनमा समस्या
नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत घट्टेखोलामा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात रोकिएको छ ।
बेलकोटगढी–१० को पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसले प्रभावित क्षेत्रका नागरिकलाई खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्याउन थप चुनौती सिर्जना गरेको छ ।
प्राकृतिक सम्पदासमेत प्रभावित
बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र बन्दरेमा रहेका लाङटाङ राष्ट्रिय निकुञ्जका कार्यालय तथा भवनमा समेत क्षति पुर्याएको छ ।
नुवाकोटको कृषि विकास केन्द्र र टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालय पनि प्रभावित भएका छन् ।
सरकारको प्रारम्भिक विवरणले भोटेकोशी–त्रिशूली करिडोरमा आएको विपद् केवल मानवीय क्षतिमा सीमित नभई बस्ती, यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र सरकारी संरचनासम्म फैलिएको ठूलो बहुआयामिक विपद् बनेको देखाएको छ ।
