जलवायु विपत्तिको मूल्य नेपालले होइन, प्रदूषक राष्ट्रले तिर्नुपर्छ : ग्रेटा थनबर्ग
काठमाडौं— विश्वप्रसिद्ध जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालमा पछिल्लो समय देखिएको बाढीपहिरोजस्ता विपत्तिका लागि अन्तर्राष्ट्रिय समुदायले दिने सहयोगलाई ‘सहायता’ नभई जलवायु क्षतिपूर्तिका रूपमा लिनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर भने नेपालजस्ता मुलुकले असमान रूपमा भोगिरहेको बताइन्।थनबर्गका अनुसार जलवायु परिवर्तनबाट सिर्जित क्षतिका लागि प्रभावित देशलाई राहत वा दान दिनेभन्दा बढी जिम्मेवार मुलुकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने हुन्छ।
‘नेपालले पाउनुपर्ने कुरा जलवायु क्षतिपूर्ति हो, जुन उसले भोगेको क्षतिको बदलामा तिर्नुपर्ने रकम हो,’ उनले भनेकी छन्।
उनले जलवायु संकटको अग्रपंक्तिमा रहेका नेपालजस्ता देशका पक्षमा न्याय सुनिश्चित गर्न आफ्नो आवाज र प्रभाव प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने समुदाय र देशले नै यसको गम्भीर परिणाम भोग्नुपरेको उल्लेख गर्दै थनबर्गले यस्तो अवस्थाप्रति असन्तुष्टि जनाएकी छन्।
२३ वर्षीया स्विडेनी अभियन्ता थनबर्ग सन् २०१८ मा १५ वर्षको उमेरमा जलवायु परिवर्तन नियन्त्रणका लागि सरकारलाई दबाब दिन स्विडेनको संसद् भवनअगाडि ‘स्कुल स्ट्राइक’मा बसेपछि विश्वव्यापी रूपमा चर्चित भएकी हुन्। उनको अभियान पछि ‘फ्राइडेज फर फ्युचर’ नामक अन्तर्राष्ट्रिय युवा आन्दोलनमा विस्तार भएको थियो।
संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु संकटप्रति विश्व नेताहरूको अपर्याप्त कदमको आलोचना गर्दै आएकी थनबर्गलाई सन् २०१९ मा अमेरिकी पत्रिका ‘टाइम’ले ‘पर्सन अफ द इयर’ घोषणा गरेको थियो।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्तै न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण गम्भीर जोखिममा रहेको छ। हिमताल विस्फोट, हिमनदी तथा हिउँ पग्लिने क्रम, अनियमित वर्षा, बाढीपहिरो र पहाडी भूभागको अस्थिरताजस्ता घटनाले नेपालमा मानवीय तथा आर्थिक क्षतिको जोखिम बढाइरहेका छन्।
यस्ता विपद् बढ्दै जाँदा जलवायु परिवर्तनमा बढी योगदान गरेका धनी तथा औद्योगिक राष्ट्रबाट जलवायु न्याय र क्षतिपूर्तिको मागसमेत बलियो हुँदै गएको छ।
