रसुवामा बाढीको ठूलो क्षति : १ हजार ५०० घर प्रभावित, ४१ किलोमिटर सडक र २४ पुल बगे
रसुवा— भोटेकोशी नदीमा आएको बाढीले रसुवामा निजी आवासदेखि सरकारी संरचना, सडक, पुल र जलविद्युत् आयोजनासम्म ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लामा मात्रै १ हजार ५०० निजी घरमा क्षति पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था र एउटा पेट्रोल पम्पसमेत प्रभावित भएका छन्।
पूर्वाधारतर्फ बाढीले ४१ किलोमिटर सडक बगाएको छ। त्यस्तै, छ वटा पक्की पुल, आठ बेलिब्रिज र १० वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रशासनले जनाएको छ।
रसुवाको ऊर्जा क्षेत्रमा पनि बाढीले गम्भीर असर पारेको छ। भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माण भएका आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ रहेका छन्।
सुरुङमा फसेकाको खोजी जारी
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन्। प्रभावित क्षेत्रमा थप प्राविधिक सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत खटिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीपछि रसुवाका १ हजार ३६५, अन्य जिल्लाका १ हजार १६० नागरिक तथा २६४ पर्यटक सम्पर्कविहीन छन्।
यसैगरी बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना पनि हराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन हेलिकप्टरबाट राहत वितरण भइरहेको प्रशासनले जनाएको छ। खोज तथा उद्धारसँगै क्षतिको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।
