पृथ्वी राजमार्ग ठप्प हुँदा पर्यटन क्षेत्र प्रभावित, पर्यटक बस सञ्चालनमै समस्या
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि पर्यटक बस सञ्चालन प्रभावित भएको छ। भोटेकोशी नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि भदौ १३ गतेदेखि राजमार्ग अवरुद्ध छ।
काठमाडौंलाई पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख पर्यटकीय गन्तव्यसँग जोड्ने मुख्य मार्ग बन्द हुँदा पर्यटक बोक्ने ठूला बस विभिन्न सहरमा रोकिएका छन्। करिब दुई सातादेखि नियमित रुटमा बस सञ्चालन हुन नसक्दा पर्यटन व्यवसायसँग जोडिएका व्यवसायी र मजदुरसमेत प्रभावित भएका छन्।
पर्यटक बस एसोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्मप्रसाद न्यौपानेका अनुसार राजमार्ग अवरुद्ध हुँदा पर्यटक आवागमनमा प्रत्यक्ष असर परेको छ। उनका अनुसार ठूला पर्यटक बसका लागि वैकल्पिक सडक उपयुक्त नभएकाले नियमित सेवा सञ्चालन गर्न कठिन भएको हो।
चितवन–हेटौँडा–फर्पिङ हुँदै केही साना पर्यटक बस सञ्चालनमा आए पनि ठूला बस भने चल्न सकेका छैनन्। साँघुरो र घुम्ती धेरै भएको वैकल्पिक सडकमा ठूला बस सञ्चालन गर्न प्राविधिक कठिनाइ रहेको व्यवसायीहरूको भनाइ छ।
सडक अवरुद्ध भएपछि पर्यटक तथा यात्रुहरू भने हवाई यात्रातर्फ आकर्षित भएका छन्। यसको प्रभाव काठमाडौं–पोखरा र काठमाडौं–भरतपुर हवाई सेवामा देखिएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार राजमार्ग बन्द भएपछि काठमाडौं–पोखरा हवाई यात्रुको संख्या सामान्य अवस्थाको तुलनामा करिब ५० प्रतिशतले बढेको छ। यात्रुको चाप बढेपछि कम्पनीले पोखरातर्फ दैनिक उडान संख्या ६ बाट बढाएर १० पुर्याएको जनाएको छ।
त्यस्तै, भरतपुर–काठमाडौं हवाई सेवामा पनि यात्रुको चाप बढेको छ। बुद्ध एयरले सामान्य अवस्थामा दैनिक पाँच उडान गर्दै आएकोमा सडक अवरुद्ध भएपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ सम्म पुर्याएको जनाएको छ।
सडक अवरुद्ध हुँदा हवाई यात्राको माग बढेसँगै हवाई भाडासमेत बढेको व्यवसायीहरूले बताएका छन्। बाढीपछि हवाई भाडा समग्रमा करिब ४० प्रतिशतसम्म बढेको उनीहरूको दाबी छ।
यता, अवरुद्ध कृष्णभीर सडकखण्ड खुलाउन नयाँ ट्रयाक निर्माणको काम तीव्र पारिएको छ। मलेखु–मुग्लिङ सडकखण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार सडक सञ्चालनमा ल्याउने उद्देश्यले दिनरात काम भइरहेको छ।
राजमार्ग तत्काल सञ्चालनमा नआए यात्रुहरूले चितवन, हेटौँडा हुँदै दक्षिणकालीतर्फको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। यसले यात्रा दूरी र समय बढाउनुका साथै यात्रु तथा पर्यटकलाई थप खर्च र जोखिमसमेत बढाएको छ।
पृथ्वी राजमार्गको अवरोधले यातायात मात्र नभई पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकको सहज आवागमनसमेत प्रभावित भएको छ।
