कृष्णभीरमा नयाँ ट्र्याक तयार हुँदै, १५ दिनभित्र ठूला सवारी पनि चलाउने तयारी
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडकको विकल्पमा खोलिएको नयाँ ट्र्याकबाट अबको १० देखि १५ दिनभित्रै दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। नयाँ ट्र्याकमा ग्यास बुलेट, ठूला मालवाहक ट्रक तथा लामो दूरीका बससमेत सञ्चालन गर्न मिल्ने गरी सडक निर्माण भइरहेको अधिकारीहरूले बताएका छन्।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पछिल्लो पाँच दिनमा पहाडको भित्ता काटेर करिब २५५ मिटर लामो नयाँ ट्र्याक खोलिएको हो। आवश्यकता परे यसको लम्बाइ २७५ मिटरसम्म पुर्याइनेछ।
हाल ट्र्याकलाई थप फराकिलो बनाउने, लेभल मिलाउने र ग्रेडिङ गर्ने काम भइरहेको छ। सडकको चौडाइ कम्तीमा साढे ७ मिटर कायम गर्ने लक्ष्य राखिएको छ।
योजना प्रमुख सजन अधिकारीका अनुसार निर्माण कार्यलाई तीव्रता दिइएको छ।
ठूला गाडी चलाउन मिल्ने गरी डिजाइन
नयाँ सडकमा ठूला सवारी साधन सञ्चालन गर्न सकिने गरी प्राविधिक मापदण्डलाई प्राथमिकता दिइएको छ। नेपाल जियोटेक्निकल सोसाइटीका कार्यकारी सदस्य तथा भू–प्राविधिक इन्जिनियर राजन केसीका अनुसार सडकको उकालोपना अर्थात् ग्रेडिएन्ट ४ प्रतिशतभन्दा कम राख्ने प्रयास गरिएको छ।
त्यस्तै, ठूला ट्रक तथा ग्यास बुलेटजस्ता लामो सवारी घुमाउन सहज होस् भनेर घुम्तीको टर्निङ रेडियस करिब ३५ देखि ४० मिटर कायम गर्ने योजना छ।
यसले नयाँ ट्र्याकबाट ग्यास बुलेट, ठूला मालवाहक ट्रक र लामो दूरीका बससमेत सञ्चालन गर्न सकिने प्राविधिक आधार तयार हुने केसीको भनाइ छ।
“ठूला लोड बोकेका सवारीलाई उकालोमा समस्या नहोस् भनेर ग्रेड कम राखिएको छ। घुम्तीमा ठूला सवारी अड्किन नदिन टर्निङ रेडियसमा पनि ध्यान दिइएको छ,” उनले भने।
किन बन्द भयो कृष्णभीर?
त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभीरको सडकको तल्लो भाग कटान गरेपछि करिब १२० मिटर सडक पूर्ण रूपमा बगेको थियो। नदीले सडकको ‘टो–कटिङ’ गरेपछि सडकको जग कमजोर बनेको र ठूलो हिस्सा भासिएको सडक विभागले जनाएको छ।
कृष्णभीरसँगै पृथ्वी राजमार्गका परेवाभीर, चरे (चालीसे) र नागढुंगा नजिकको पात्लेवनमा समेत बाढीपहिरोले सडकमा क्षति पुर्याएको छ।
परेवाभीरमा करिब १०० मिटर, चरेमा ४० मिटर र पात्लेवनमा करिब ८० मिटर सडकमा क्षति पुगेको छ। यीमध्ये केही खण्डमा अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
उपत्यकामा आपूर्ति प्रभावित
कृष्णभीर खण्ड पूर्ण रूपमा बन्द भएपछि बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रिने ठूला मालवाहक सवारी प्रभावित भएका छन्। वैकल्पिक रूपमा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गरिए पनि ती सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न कठिनाइ छ।
यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तु, इन्धन तथा ग्यासको आपूर्तिमा परेको छ।
त्यसैले कृष्णभीरबाटै ठूला मालवाहक सवारी सञ्चालनमा ल्याउने तयारीलाई विशेष महत्वका साथ हेरिएको छ।
दीर्घकालीन समाधान भने बाँकी
नयाँ ट्र्याकलाई तत्कालीन वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याउने तयारी भए पनि कृष्णभीरको दीर्घकालीन समाधान भने अझै बाँकी छ।
भू–प्राविधिक इन्जिनियर केसीका अनुसार माथिल्लो भिरालो भागलाई काटेर समथर बनाउने तथा पानीको व्यवस्थापन गर्ने काम भइरहेको छ। यसले पहिरोको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।
भासिएको सडकको पुरानो ग्याबियन वाल सुरक्षित रहेकाले त्यसको भित्री भागबाट नयाँ सडक लैजाने योजना छ। दीर्घकालीन रूपमा पाइलिङसहितका स्थायी संरचना निर्माण गर्ने विकल्पमा समेत काम अघि बढाइनेछ।
त्रिशूली नदीको सतह घटेपछि दसैँपछि पाइलिङलगायत स्थायी संरचना निर्माणको काम अघि बढाउने तयारी छ।
