रसुवा र नुवाकोटबाट बेपत्ता ४५ सैनिकमध्ये देवसिंहको अवस्था अझै अज्ञात
काठमाडौं । भदौ १० गते बिहान करिब १० बजेको थियो। रसुवाको टिमुरे पोस्टमा कार्यरत सहायक सेनानी देवसिंह धामीको मोबाइलमा काठमाडौँबाट उनका जेठा छोरा भूपेन्द्रले फोन गरे। रसुवामा ठूलो बाढी आएको खबरले परिवार आत्तिएको थियो।
तर फोन उठेन। मोबाइल बन्द थियो।
भूपेन्द्रले फेरि फोन गरे। पटकपटक प्रयास गरे। प्रत्येकपटक एउटै जवाफ आयो– मोबाइल स्विच अफ।
अघिल्लो साँझसम्म भने सबै सामान्य थियो। देवसिंहले काठमाडौँमा रहेका श्रीमती र दुई छोरासँग भिडियो कलमा कुरा गरेका थिए। छोराहरूलाई राम्रोसँग पढ्न सम्झाउँदै उनी सधैँझैँ सामान्य कुराकानी गरेर फोन राखेका थिए।
त्यो नै परिवारसँग उनको अन्तिम सम्पर्क बन्यो।
देवसिंह वैशाखमा मात्रै रसुवा पुगेका थिए। जमदारबाट आन्तरिक प्रतिस्पर्धामार्फत सहायक सेनानी बनेपछि भक्तपुरको खरिपाटीमा तालिम पूरा गरेका उनको पहिलो पोस्टिङ नै रसुवाको श्रीनाथ गणमा भएको थियो। पछि उनी सोही गणअन्तर्गतको टिमुरे पोस्टमा खटिए।
बाढी आउँदा पनि उनी त्यहीँ थिए।
रसुवामा बाढी आएको खबरसँगै परिवारको मन टिमुरेतिर पुग्यो। सुरुमा उनीहरूले ठूलो विपत्ति भए पनि बिजुली र टेलिफोनका संरचना क्षतिग्रस्त भएकाले मात्र सम्पर्क हुन नसकेको होला भन्ने ठाने।
‘आर्मी मान्छे हो, जसरी भए पनि सुरक्षित हुनुभएको होला’ भन्दै परिवारले आफूलाई सम्झाइरह्यो।
तर समय बित्दै गयो।
गणमा फोन गर्दा पनि सम्पर्क हुन सकेन। त्यसपछि परिवारले सामाजिक सञ्जालमा आएका बाढीका फोटो र भिडियो हेर्न थाल्यो। देखिएका दृश्यले उनीहरूको डर झनै बढायो।
पछि श्रीनाथ गणबाट देवसिंह बसेको पोस्ट नै बाढीले बगाएर लगेको खबर आयो।
तर देवसिंह कहाँ छन् भन्ने कुनै जानकारी आएन।
गणका एक क्याप्टेनले परिवारलाई फोन गरेर खोजी भइरहेको जानकारी दिए। ‘नआत्तिनुस्, चिन्ता नगर्नुस्, परिवारलाई पनि सम्झाउनुस्’ भन्दै उनले आश्वस्त पार्न खोजे।
परिवार भने उनको खबर आउने प्रतीक्षामा बसिरह्यो।
केही दिनपछि फेरि फोन आयो। यसपटक खबर फरक थियो– डीएनए परीक्षणका लागि परिवारका सदस्यले नमुना दिनुपर्ने।
भूपेन्द्रका कान्छा भाइ अनिल प्रहरी अस्पताल महाराजगन्ज पुगे र डीएनएका लागि नमुना दिए।
अब परिवारसँग दुईवटा सम्भावना मात्र बाँकीजस्तो देखिन्छ– देवसिंह कतै जीवितै भेटिन सक्छन् भन्ने आशा र अज्ञात शवमध्ये कतै उनको पहिचान खुल्न सक्छ भन्ने भय।
तर परिवारले अझै पहिलो सम्भावनालाई नै समातेर बसेको छ।
‘उहाँ त हाम्रो मात्रै होइन, नेपाली सेनाको पनि मान्छे हो। देशका लागि २१ वर्ष योगदान गर्नुभएको छ,’ भूपेन्द्र भन्छन्, ‘सेनाले आधिकारिक रूपमा जानकारी नदिएसम्म हामी के गर्ने भन्ने अन्योलमै छौँ।’
उनका लागि देवसिंह केवल बुबा होइनन्, परिवारका निर्णयकर्ता पनि थिए।
‘सबै कुरा उहाँले नै गाइड गर्नुहुन्थ्यो। अब उहाँ नभएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने सोच्नै सकेको छैन,’ भूपेन्द्रको भनाइ छ।
एक परिवारको मात्र पीडा होइन
देवसिंहको परिवारले भोगिरहेको प्रतीक्षा अहिले हजारौँ परिवारको साझा पीडा बनेको छ।
बाढीपछि रसुवा र नुवाकोटलगायत प्रभावित क्षेत्रमा हजारौँ मानिस सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको बताइएको छ। नेपाल प्रहरीका पनि सुरक्षाकर्मी बेपत्ता भएका छन्। सशस्त्र प्रहरीका केही सुरक्षाकर्मीको समेत अवस्था अज्ञात छ।
बाढीमा ज्यान गुमाएका धेरैको शव फेला परे पनि पहिचान हुन सकेको छैन। पहिचान नखुलेका शव सुरक्षित रूपमा राखिएका छन् भने बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन भइरहेको छ।
डीएनए परीक्षणबाट शवको पहिचान खुलेपछि सम्बन्धित परिवारलाई बुझाउने तयारी गरिएको छ।
तर डीएनएको रिपोर्ट पर्खनु पनि परिवारका लागि अर्को लामो प्रतीक्षा हो।
दार्चुलामा वृद्ध आमाबुबाको प्रतीक्षा
देवसिंहको परिवार काठमाडौँमा मात्र छैन। दार्चुलाको लेकम गाउँपालिका–४ मा उनका वृद्ध आमाबुबा छन्।
छोरा रसुवाको बाढीमा बेपत्ता भएको खबर पाएपछि उनीहरू पनि छोराको खोजीको खबर पर्खिरहेका छन्। उनीहरूले वडाध्यक्ष महेन्द्रराज जोशीमार्फत छोराको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन्।
वडाध्यक्ष जोशीले देवसिंह बेपत्ता भएको जानकारी सांसद गणेशसिंह ठगुन्नालाई समेत गराएका छन्। ठगुन्नाले बुधबार संसदमा दार्चुलाका बाढीपीडित तथा बेपत्ता नागरिकको खोजीमा सरकारले थप तदारुकता देखाउनुपर्ने विषय उठाए।
तर संसदमा उठेको आवाजले दार्चुलाको त्यो घरमा पर्खिरहेका वृद्ध आमाबुबालाई तत्काल उत्तर दिएको छैन।
उनीहरूको प्रतीक्षा अझै उस्तै छ।
सेनाको भनाइ– खोजी जारी छ
नेपाली सेनाले भने अहिलेसम्म बेपत्ता सैनिकमध्ये कसैको पनि अवस्था पत्ता नलागेको जनाएको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बेपत्ता सैनिकका परिवारसँग समन्वय गर्न हेल्प डेस्क स्थापना गरिएको छ र परिवारका सदस्यबाट डीएनए नमुना संकलन भइरहेको छ।
सेना अहिले पनि खोजी तथा उद्धारमा केन्द्रित रहेको उनले बताए। बेपत्ता सैनिकका परिवारका विषयमा संगठनले नियमअनुसार आवश्यक तयारी गरिरहेको उनको भनाइ छ।
तर देवसिंहको परिवारका लागि अहिले यी सबै प्रक्रियाभन्दा ठूलो कुरा एउटा मात्र छ– ‘देवसिंह कहाँ छन्?’
यस प्रश्नको उत्तर नआएसम्म काठमाडौँमा उनका दुई छोरा, श्रीमती र दार्चुलामा वृद्ध आमाबुबाको प्रतीक्षा सकिने छैन।
